४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तुको खेलकुद क्षेत्रलाई आफु सक्दो सहयोग गर्छुः मन्त्री विश्वकर्मा



मायादेवी अनलाइन, वाणगंगा ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले कपिलवस्तुको खेलकुद विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जिल्लाको वाणगंगा नगरपालिकाका दुई खेलकुद रंगशालाको निरिक्षण गर्दै मन्त्री विश्वकर्माले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगीताको अवसरमा ५ नं. प्रदेशका विभिन्न जिल्लाको अवलोकनका लागि निस्किनुभएका मन्त्री विश्वकर्मा आज कपिलवस्तुमा आउनुभएको हो । जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको निमन्त्रणामा जिल्लामा आउनुभएका मन्त्री समक्ष समितिका अध्यक्ष छविलाल रेश्मीले जिल्लाको खेलकुद क्षेत्रमा राज्यले अपहेलना गरेको महसुस आफुहरुलाई भएको गुनासो गर्नुभएको थियो ।
छिमेकी जिल्ला रुपन्देही र दाङमा करोडौंका बजेट पर्ने गरेपनि कपिलवस्तुमा न्यून बजेट पर्ने गरेको भन्दै अध्यक्ष रेश्मीले मन्त्रीको ध्यानाकर्षण गरानुभएको थियो । जिल्लामा खेलकुदका राष्ट्रिय तथा स्थानीय कार्यक्रम हुने गरेको भन्दै अबका दिनमा राज्यको साथ र सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
अध्यक्ष रेग्मीले कपिलवस्तुमा रात्रिकालिन राष्ट्रिय भलिवल प्रतियोगीता गरिएको जानकारी दिनुभएको थियो । जुन प्रतियोगीता नेपालमै पहिलो पटक भएको उहाँले मन्त्री समक्ष सुनाउनुभयो । नीजि क्षेत्रको सहयोगमा भएको उक्त प्रतियोगीता जस्ता अन्य प्रतियोगीता राज्यको साथ र सहयोग भए गर्न सकिन बताउनुभयो ।
अध्यक्ष रेश्मीका कुरा सुने पछि आफ्नो भनाई राख्नुभएका मन्त्री विश्वकर्माले अहिलेको सरकारले खेलकुदको क्षेत्रलाई प्राथमिकता दिएको बताउनभुयो । खेलकुद विना देश विकास हुन नसक्ने भन्दै सरकारले ल्याएको खुसी नेपाली, समृद्ध नेपालको कल्पना खेलकुदको विकास बिना हुन नसक्ने भन्दै सरकारले खेलकुदलाई उचित महत्व दिएको बताउनुभयो ।
मन्त्री विशवकर्माले हरेक प्रदेशमा एक ओटा अन्तराष्ट्रिय रंगशाला, हरेक स्थानीय तहमा एउटा राष्ट्रिय खेलमैदान बनाउने नीति ल्याएको बताउनुभयो । स्थानीय तहले ३० प्रतिशत खेलकुद मैदानको क्षेत्रमा बजेट छुट्याउन सके केन्द्र सरकारले ७० प्रतिशत लगानी गर्न तयार रहेको बताउदै त्यसको लागि पहाडमा २५ रोपनी, तराईमा दुई विगाह जग्गा अनिवार्य रहनुपर्ने बताउनुभयो ।
रंगशाला अवलोकनका लागि नेकपाका वाणगंगा नगर कमिटी अध्यक्ष विश्व कार्की, वडा नं. ७ का वडा अध्यक्ष विष्णु गिरी, वडा नं. ८ का वडा अध्यक्ष गुणनिधि भुसाल, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष पदम सेन, दिनेश क्षेत्री, कार्यलय प्रमुख मिन प्रसाद पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  १ : ५२ बजे