४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

निर्मला पन्त हत्या प्रकरणः पूर्व एसपी विष्ट धरौटीमा रिहा



कञ्चनपुर ।
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्ट धरौटीमा रिहा भएका छन् ।
कञ्चनपुर जिल्ला अदालतले आइतबार पूर्व प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्टलाई दश लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले एसपी विष्टलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताउनुभयो ।
उहाँका अनुसार विष्टलाई यातनाविरुद्धको कसुरमा रु ६ लाख र सार्वजनिक न्यायविरुद्धको कसूरमा रु ४ लाख ५० हजार धरौटी सुनाइएको छ ।विष्ट गएको मंगलबार निवेदनसहित जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका थिए । उनको गएको शुक्रबार अदालतमा बयानपछि बहस सकिएको थियो ।
निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसूर र दिलिपसिंंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसूरमा गएको पुस ३ गते उजुरी दिनुभएको थियो ।
यसअघि, मुद्दाका अन्य प्रहरी कर्मचारीहरु प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकिन्द्र खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी, रामसिंंह धामी र प्रहरी जवान चाँदनी साउद यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् ।
यसैबीच, विष्टसँगै प्रहरीको फरारको सूचीमा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का डीएसपी अंगुर जिसी भने उपस्थित नभएको अदालतले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  ८ : २९ बजे