४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पर्वतको पाङबाट बागलुङ जोड्ने ५६७ मिटर लामो झोलुंगे पुलको शिलान्यास



बागलुङ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि प्रधान मुलुकमा स्थानीय उत्पादनलाई उद्यमशीलतामार्फत बजारीकरण गर्दा समृद्धि आउने बताएका छन्।बागलुङ र पर्वत जोड्ने गरी निर्माण गर्न थालिएको झोलुंगे पुलको शनिबार बागलुङतर्फ शिलान्यास गर्दै तिमिल्सिनाले पुललाई आउजाउका रुपमा मात्र प्रयोग नगरेर उत्पादन आयात–निर्यातसँग जोड्नुपर्ने बताए। उनले पुल निमार्णले समेत समृद्धिको यात्रामा सहयोग पु¥याउने बताए।

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवारी जोड्ने गरी निर्माण थालिएको झोलुंगे पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको हुने सस्पेन्सनब्रिज डिभिजन कार्यालयका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए।

कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको उक्त पुल दुई वर्षभित्र सक्ने गरी हिमशिखर कन्स्ट्र«क्सनले रु सात करोड ९७ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको छ। पुलमा चाहिने लठ्ठाको व्यवस्था भने सस्पेन्सनब्रिज कार्यालयले उपलब्ध गराउनेछ। पुलको सबै निर्माण सम्पन्न गर्दा रु १२ करोड २२ लाख १८ हजार ९५७ खर्च लाग्ने छ।

निर्माण कम्पनीका कर्मचारी नरहरि खड्काका अनुसार नेपालमा पहिलोपटक यस किसिमको लामो पुल बन्न लागेकाले केही चुनौती भए पनि दक्ष प्राविधिक प्रयोग गरेर काम सम्पन्न गरिनेछ। श्रेष्ठका अनुसार अहिलेसम्म ३६५ मिटरसम्मको लामा झोलुंगे पुल निर्माण भएका कारण दुई जिल्लालाई जोड्ने गरी बन्न लागेको यो देशकै एक लामो झोलुंगे पुल हुनेछ। नेपालको अग्लो पुल भने पर्वतमा निर्माण भइसकेको उनले बताए। रासस

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ९ : ५७ बजे