४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ऊर्जामन्त्री पुनद्धारा माथिल्लो तामाकोशीको निरीक्षण, मंसिरभित्र सकिने दाबी



दोलखा ।
ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन। मन्त्री पुनले शनिबार बिहान आयोजनाको बांधस्थल, सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनिस्टकको अवस्थाको बारेमा फिल्डमै पुगेर जानकारी लिएका हुन। उनले आयोजनाको अनुगमन, निरीक्षण र समस्याको समाधान गर्न र सहजीकरणको लागी आफू प्राधिकरण र आयोजनाका उच्च पदस्थ अधिकारीसहित फिल्डमै आएको बताए। मन्त्री पुनले आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसँग आयोजनाको प्रगतिको बारेमा जानकारी लिएका थिए। मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय योजना आयोगका सदस्य डा।कृष्ण ओलीसहित आयोजनास्थल पुगेका थिए। उनले तोकिएको समयमा तामाकोशी जलविद्युत आयोजना ल्याउनुपर्ने भन्दै त्यसमा गम्भीर भएर काम गर्नसमेत निर्देशन दिएका थिए। ४५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना आगामी मंसिरभित्र सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए। आयोजनास्थलको निरीक्षण भ्रमण सम्पन्न गरिसकेपछि संचारकर्मीसँग शनिवार कुरा गर्दै मन्त्री पुनले आयोजना समय तालिकाभित्रै सम्पन्न हुने दाबी गरे। उनले भने, ‘यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भीर चाँसो छ, आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनको लागी मैले पुरै ध्यान केन्द्रित गरेको छुँ, म समय तालिकाभित्रै आयोजना पुरा हुनेमा विश्वस्त छुँ।’ ‘केही समयअघि भर्टिकल साफका कारण केही समस्या आएको थियो, हामीले टेक्सम्याक र एन्ड्रिजको बीचमा समझदारी बनाइदिएका छौँ,अहिले काम अघि बढिरहेको छ। त्यसैले पनि आगामी मंसिरसम्म सबै काम सम्पन्न हुन्छ’, उनले भने। यो आयोजनालाई सरकारले महत्व दिँदै आएको छ। यो आयोजनाको यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि निरीक्षण गरेका थिए।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ८ : ४१ बजे