४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वेलफेयरले जित्यो फुटवलको उपाधि,अफ्रिकन खेलाडी मान्सा र ५१ किलोको बोको आकर्षण 



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।

कपिलवस्तुको वाणगंगामा शुक्रबार सम्पन्न वडा कप फुटवलको उपाधि वाणगंगा स्पोर्ट्स एण्ड वेलफेयर सोसाइटीले जितेको छ । बाणगंगाा नगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको नकआउट फुटवलको फाईनल खेलमा कडा प्रतिद्धन्दी मुहान एफसि झुँगा लाई २–० ले हराउदै वेयलफेयरले उपाधि चुमेको हो । खेलमा विदेशी खेलाडी मान्सा नायक भए । उनले २ गोल गरे । पहिलो हाफको पाँचौँ मिनेटमा मान्साले वाणगंगाको लागि खाता खोले । त्यसपछि पहिलो हाफको मध्यतिर उनले अग्रता दोब्बर पारेका थिए । निकै फुर्तिला र आत्मविश्वासी देखिएका उनले खेल अवधिभर दर्शकलाई आफ्नो पक्षमा पारेका थिए । उनको तीव्र गतिलाई रोक्न मुहानलाई हम्य हम्य भएको थियो । बाणगंगाले पहिलो हाफमा थप गोल गर्ने प्रयास गरे पनि सकेन र पहिलो हाफ २–० मा सकियो ।
पहिलो हाफमा दबाबमा रहेको मुहान दोश्रो हाफमा केही सुधारिएको देखिए पनि बाणगंगालाई दबाबमा राख्न सकेन । राष्ट्रिय खेलाडीसमेत सम्मिलित बाणगंगााले दोश्रो हाफमा पनि मुहानलाई दबाबमा राख्यो । खेलको अन्त्यतिर मुहान लयमा फर्कन खोजेजस्तो गरे पनि समय सकिसकेको थियो । मुहानले केही गोल गर्ने अवसर पाए पनि खेर फाल्दा निरास बन्यो । करिब ७० प्रतिशत बल आफ्नो पक्षमा पारेको वेलफेयरले अरु थुप्रै गोलका प्रयास गरे पनि मुहानका गोल किपर दिपक थापाले विफल बनाइदिएका थिए । अन्त्यसम्म दुवै टिमबाट थप गोल गर्ने प्रयास भए पनि नसकेपछि पहिलो हाफको २ गोल नै बाणगंगााको जितको लागि निर्णयक बन्यो । विजेता बन्दै बाणगंगाले नगद ७५ हजार,शिल्ड, मेडल र प्रमाण पत्र पायो भने उपविजेतामा चित्त बुझाएको मुहानले नगद ५५ हजार,शिल्ड, मेडल र प्रमाण पत्र पायो । प्रतियोगितामा डुंगहवाका शुशिल भट्टराई उत्कृष्ट खेलाडी र गोल कर्ता बने ।


उनले प्रतियोगिताभर ४ गोल गरेका थिए । यस्तै बुडासुडडको उपाधि हेल्थ क्लवले जितेको छ । उसले डुंगहवालाई २–१ ले पराजित गरी उपाधि जितेको हो । उसले ५१ किलोको खसी र शिल्ड प्राप्त गर्यो । प्रतियोगितामा विजयी खेलाडीलाई प्रमुख अतिथि, नगरका मेयर मंगलप्रसाद थारु,सदस्य समाजसेवी ले पुरस्कार दिनुभएको थियो । चैत्र ४ गतेबाट सुरु भएको प्रतियोगितामा जम्मा ८ टिमको सहभागिता रहेको थियो । फाइनल खेलको शुभारम्भ मेयर थारुले रेफ्रीलाई वल हस्तान्तरण गरेर गर्नुभएको थियो । 
विदेशी खेलाडी र बोका हेर्नेको भीँड
शुक्रबार सम्पन्न फाइनल खेल विशेष बन्यो । विदेशी खेलाडी मान्सा र ५१ किलोको बोकाको कारण खेल विशेष बनेको थियो । विदेशी खेलाडीलाई विरलै देख्ने मौका पाउने नगरका खेलप्रेमीहरुले वेलफेयरबाट खेल्न आएका मान्सालाई हेर्न र सेल्फी खेल्न भीँड गरेका थिए । बाणगंगाा ४ का खिम प्रसाद शर्माले सधै टिभीमा देखिने विदेशी खेलाडीलाई देख्न पाउँदा निकै खुसी लागेको बताउनु भयो । उहाँले भन्नुभयो–“टिभीमा देख्दा काला देखिन्थ्यो । पत्यार लाग्दैनथ्यो । साँँच्चै काला हुने रैछन् ।” मान्सा साउथ अफ्रिकाबाट नेपालमा व्यावसायिक फुटवल खेल्न आउँछन् । उनी बलियो टोली द फिन्सबाट खेल्ने गर्दछन् । उनले पनि कपिलवस्तुमा खेल्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । मायादेवी अनलाइनसंग छोटो कुरा गर्दै मान्साले भने–“मलाई एकदमै रमाइलो लागेको छ । नयाँ अनुभूति भएको छ । टिमलाई जिताउँछु लागेको थियो । जिताएँ र खुसी लाग्यो ।”
विदेशी खेलाडी आएको खबरले साँझसम्म एक हजार बढी दर्शक डुङगा खेल मैद्यानमा गएका थिए । खेलमैदानको चारैतिर र डाँडा पाखामा बसेर पनि चर्को घामको प्रवाह नगरी दर्शकले खेलको आनन्द लिएको देखिन्थ्यो । आयोजकले आफ्नो समुहमा ५ जना बाहिरका जुनसुकै खेलाडी राख्न सक्ने प्रवन्ध गरेकाले फाइनलमा वेलफेयरले विदशीसहित नेपाली राष्ट्रिय टोलीका अन्डर नाइन्टिन गोल किपर र अन्य राष्ट्रिय खेलाडीलाई झिकाएको थियो । विदेशी खेलाडीका बाबजुत पनि झुँगाका स्थानीय खेलाडीहरुले उनीहरुलाई रोक्न सफल भएका थिए । मुहानले धेरै गोल अन्तरले पराजित हुन्छ भन्ने कतिपयको भनाइ भए पनि त्यो भएन । मुहानका खेलाडी राम्रो खेले ।
यस्तै बुडासुडडको विजेताको लागि राखिएको ५१ किलाको बोका हेर्न र सेल्फी खेल्न पनि दर्शकहरु झुम्मिएका थिए ।
कसले के बोले ?
समापन समारोहमा बोल्दै मेयर मंगलप्रसाद थारुले प्रतियोगिता प्रतिभा चिन्ने दरिलो आधार बनेको बताउनु भएको छ । वडा नम्बर ४ को आयोजना र सिद्धिपुर टोल विकास समितिको संयोजनमा भएको प्रतियोगिताले अब एक हप्तामा सुरु हुने मेयर कपको लागि खेलाडी छान्न सजिलो भएको बताउँदै खेलाडीहरुलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।
विशिष्ट अतिथि जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका अध्यक्ष छवि रेश्मीले अब आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश ५ मा संचालन हुन लागेकाले यसलाई सबैले गर्वको रुपमा लिनुपर्ने बताउनु भएको छ । जिल्लाबाट १० खेलाडी राष्ट्रिय खेलकुदको लागि छनोट भएकाले उनीहरुलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ । केही खेल जिल्लामा पनि हुन लागेकाले सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । उहाँले अझै पनि बाणगंगाा नगरका कतिपय वडामा खेलकुदको लागि बजेट विनियोजन गरिएको अवस्था भेटिएकाले आगामी दिनमा त्यसलाई सुधार गर्नु पर्ने आवश्यता रहेको बताउनु भयो । वडा नम्बर चारका वडाध्यक्ष गणेश क्षत्रीको अध्यक्षता र सिद्धिपुर टोल विकास समितिका सचिव दिनेश क्षेत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बिभिन्न वडाका अध्यक्षहरुले आफ्नो भनाई राख्नु भएको थियो । खेल सम्पन्न गर्न करिब ३ लाख लागेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  १ : ४० बजे