४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

टुंगियो रेणु र पार्वतीबीचको विवाद, होली खेलेको तस्विर सामाजिक सञ्जालमा



चितवन ।

भरतपुर महानगरपालिकामा लामो समयदेखि रहेको प्रमुख र उपप्रमुखबीचको विवाद टुंगिएको छ। महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले विभिन्न विषयमा सहमति गरेसँगै विवाद टुंगिएको हो ।  दुवैले आफूहरूबीच उत्पन्न असमझदारीलाई संवादको माध्यमबाट समाधान गरी पुनः त्यस्ता असमझदारी उत्पन्न हुन नदिने प्रतिबद्धता जनाएका छन्। निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरूको परिपूरक भूमिका हुने कुरालाई दृष्टिगत गर्दै संविधान, प्रचलित कानून र नीति तथा कार्यक्रमको मर्मअनुसार संलग्न सबैमा एउटै बुझाइ गरिने सहमतिमा उल्लेख छ ।  यस्तै कार्यपालीका बैठक, कार्यपालिकाले गठन गरेको समितिहरुको बैठक सञ्चालन र निर्णयहरुको कार्यन्वयनलाई थप प्रभावकारी बनाउने, आवश्यकता अनुसार कार्यपालिका समिति गठन गर्ने, समिति गठन गर्दा विषयविज्ञ तथा सन्तुलित प्रतिनिधित्वलाई सुनिश्चित गर्ने लगायत बुँदामा सहमति भएको प्रमुख दाहाल र उपप्रमुख शाहद्वारा संयुक्तरूपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।  विज्ञप्तीमा महानगरपालिकामा रहेका विकास निर्माणका सम्भावना, हालसम्मको उपलब्धि र भावी कार्यदिशा सम्बन्धमा थप उर्जाशील र क्रियाशील भई व्यवस्थित र समृद्ध महानगर बनाउने विषयमा एकाकार भएर अघि बढ्ने प्रतिबद्धता पनि जनाइएको छ। साथै दाहाल र शाहले एक अर्काले रंग लगाएर सँगै होली खेलेको तस्विर पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ।  प्रतिबद्धतासहितका सहमतिसँगै होली खेलेका तस्विर सार्वजनिक भएपछि महानगरवासी पनि खुशी भएका छन्। महानगरका प्रमुख, उपप्रमुख र कर्मचारीबीच विगत लामोस मयदेखि विभिन्न विषयमा देखिएको मतभेदअन्त्य भएसँगै महानगरवासी खुशी भएका हुन्। प्रदेश सासंद मिलनबाबु श्रेष्ठको अगुवाइमा सहमति जुटेको बताइएको छ।

प्रकाशित मिति : ८ चैत्र २०७५ शुक्रबार ००:००  ७ : ०९ बजे