४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

चुनावकै मुखमा बीजेपीलाई झट्का, दुई दिनमा २३ नेताले छोडे पार्टी



भारत ।
भारतमा लोकसभा चुनाव नजिकिँदै गर्दा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) लाई झट्का लागेको छ ।
गएका दुई दिनमा मात्रै अरुणाञ्चल प्रदेशका दुई मन्त्री र ६ विधायकसमेत २३ नेताले बीजेपी परित्याग गरी नेसनल पिपल्स पार्टी (एनपीपी)  मा आबद्ध भएका छन् ।
अरुणाञ्चल प्रदेशका गृह मन्त्री कुमार वाई, पर्यटन मन्त्री जरकार गामलिन, बीजेपी महासचिव जरपुम गामबिनसमेतका विधायकले बीजेपी परित्याग गरेका हुन् । अब अरुणाञ्चल प्रदेशको विधानसभामा एनपीपीका विधायकको संख्या १३ पुगेको छ ।
६० सदस्यीय विधानसभामा अहिले पनि बीजेपीसँग ४० विधायकको समर्थन प्राप्त छ । गएको आइतबार मात्रै बीजेपीले अरुणाञ्चल प्रदेशको विधानसभा चुनावका लागि ५४ सिटमा उम्मेदवारको नाम घोषणा गरेको थियो । अरुणाञ्चल प्रदेशमा अप्रिल ११मा लोकसभाका दुई सिटसँगै विधानसभाको पनि चुनाव हुँदैछ ।
प्रादेशिक राजधानी इटाननगरमा पत्रकारसँग कुरा गर्दै एनपीपीका महासचिव थमस संगमाले अब एनपीपीले ४० सिटमा प्रतिस्पर्धा गर्ने बताएका छन् । उनले उठेका सबै सिटमा जित हात पार्दै आफूहरुले सरकार बनाउने पनि दाबी गरेका छन् ।
मणिपुर र मेघालयमा बीजेपी नेतृत्वकै सरकारमा भए पनि त्यहाँ पनि एनपीपी आउँदो लोकसभा चुनावमा बीजेपीको गठबन्धनमा सहभागी छैन । गएको मंगलबार मात्रै त्रिपुरामा बीजेपी उपाध्यक्ष सुबल भौमिकसमेत तीन नेता कांग्रेसमा सहभागी भएका थिए ।
भौमिकले बीजेपीमा आन्तरिक लोकतन्त्र नभएको भन्दै कांग्रेसमा पुनः फर्किएको बताएका थिए । उनी सन् १९७० को दशकदेखि नै कांग्रेसमा थिए । उनी सन् २००८ मा कांग्रेसबाट सांसद पनि बने ।
सन् २०१३ मा राज्य विधानसभामा कांग्रेसको हारपश्चात उनले प्रगतिशील ग्रामीण कांग्रेस गठन गर्नका लागि भारतीय कांग्रेस छोडे । तर २०१४ मा उनी बीजेपीमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७५ बिहिबार ००:००  ८ : १५ बजे