४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कपिलवस्तुको महाराजगञ्जमा सब–स्टेशन सञ्चालन



काठमाण्डौ ।

कपिलवस्तु र रोल्पाको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको महाराजगञ्ज र होलेरी सबस्टेसन सञ्चालनमा आएका छन् ।

सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा कपिलवस्तुको महाराजगञ्ज सबस्टेसन केही दिनअघिबाट सञ्चालनमा आएको छ । सरकार, नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको ३३÷११ केभी  सबस्टेसन २८ फागुनबाट संचालन (चार्ज)मा आएको हो । निर्माण सुरु भएको साढे दुई वर्षमा सबस्टेसनको निर्माण सम्पन्न भएको हो ।

यसैगरी रोल्पाको रुन्टीगढी गाउँपालिकामा निर्माण भएको ३३÷११ केभी होलेरी सबस्टेसन सञ्चालनमा (चार्ज) आएको हो । सबस्टेसमा रहेका तीन वटा फिडरमध्ये दुईवटाबाट त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएपछि लामो दूरी र ओभरलोडिङका कारणले पटकपटक लाइन ट्रिप हुने, भोल्टेज नहुने समस्या समाधान भएको, प्रणालीको चुहावट घट्ने, त्यस क्षेत्रमा विद्युतीकरण गर्न सहयोग पुग्ने र विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने बताउनुभयो ।

प्राधिकरणले होलेरी सबस्टेसन निर्माणका लागि २०६४को असारमा ठेक्का सम्झौता गरेको थियो । तर ठेकेदारको कमजोर कार्यसम्पादनका कारण सबस्टेसन निर्माण अलपत्र परेको थियो ।

आफ्नो गृह जिल्लाकै सबस्टेसन ठेक्का लगाएर अलपत्र पारेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले यसमा विशेष चासो दिँदै निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न प्राधिकरणलाई पटक–पटक निर्देशन दिनुभएको थियो ।

सबस्टेसनबाट विद्युत वितरण सुरु भएपछि उपभोक्ताले अविछिन्न रुपमा गुणस्तरीय विद्युत् सेवा उपभोग गर्न पाउने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि देशभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५ बिहिबार ००:००  २ : ११ बजे