४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कपिलवस्तुमा पहिलो पटक चैते धान रोपिदै



मायादेवी अनलाइन, वाणगंगा ।
चैत महिनाको चर्दो गर्मी । खेतमा गहुँका बाला झुलेको परिवेश । तर, वाणगंगा नगरपालिका वडा नं. ११ भडसडवाको माहोल भने एकाएक फरक भयो । लाग्थ्यो भडसवामा बर्खा लागेको छ । भडसवाबासीले खेतमा बुधबार भकाभक धान रोपे । त्यहाँ हेर्न पुगेका सबै दर्शक अचम्मित भए ।
कपिलवस्तुमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्रगत धान सुपरजोनको चैते धान खेती कार्यक्रम अन्तर्रगत भडसडवामा धान रोपिएको हो । धान सुपरजोन परियोजनाका प्रमुख मुकुन्द भुसालले यस बर्ष देखि वाणगंगाका विभिन्न स्थानमा चैते धान रोपिने बताउनुभयो । कार्यक्रम अन्तर्रगत बुधबार भडसडवामा धान रोपिएको उहाँले बताउनुभयो ।
परियोजनाका कृषि प्राविधिक देवीराम बेल्वासेले यस बर्ष वाणगंगाका ७ स्थानमा धान रोपिने बताउनुभयो । नगरका देउवापार, ठाकुरापुर, बैदौली, लक्ष्मणघाट, चौवा, भर्लावासमा गरी झण्डै ३० विगाह जग्गामा धान रोपिने उहाँले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
कपिलवस्तुमा पहिलो पटक चैतेधान खेती गर्न थालिएको हो । चैते धान असारको पहिलो हप्ता सम्म स्याहार्न सकिने परियोजनाले जनाएको छ । सिंचाईको असुविधाको कारण बर्खामा समेत धान रोप्न नपाएर तड्पिरहेका किसानका लागि धान सुपरजोनले राहत मिल्ने अपेक्षा छ । परियोजनाले धान खेती गर्ने किसानका लागि बीउ र कृषि सामग्री वितरण गरेको छ ।
भड्सडवाको झण्डै ५ कठ्ठा जग्गामा बुधबार धान रोपिएको छ भने यस स्थानमा ५ विगाह धान रोप्ने परियोजनाको लक्ष्य छ । विशेष गरी चैते तीन र हर्दिनाथ जातको धानको बीउ रोपिएको बताइएको छ ।
नेपालमा बर्षेनी धानको आयात बढ्दो छ । कृषि प्रधान देश भएपनि नेपालमा धानको आयात गर्नुपर्ने बाध्यता भैरहेको बेला प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपर जोनले धानको आयातलाई प्रतिस्थापन गर्ने अपेक्षा लिइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५ बिहिबार ००:००  २ : ०३ बजे