१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

चार सय हेक्टरमा सिँचाइ पुग्दै



दीपक बोहरा, लमही ।
चालू आर्थिक वर्षमा दाङको थप ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने भएको छ । चालू आवभित्र पाँचवटा सिँचाइ आयोजना निर्माणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दाङका प्रमुख गणेश मरासिनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुकदेवा सिँचाइ आयोजनाको काम पूरा भएको भए पनि क्लाङखोला सिँचाइ आयोजना, भवानी कुलो सिँचाइ आयोजना, खटारे कुलो सिँचाइ आयोजना, जितपुरे सिँचाइ आयोजनाको काम चालू आवभित्रै सक्ने गरी काम अगाडि बढेको छ ।
उहाँले रु एक करोड ५१ लाख लागतमा निर्माण भइरहेको क्वाङ्खोला सिँचाइ आयोजनाको काम ९५ प्रतिशत पूरा भएको जानकारी दिनुभयो । त्यस्तै सोही लागतमा निर्माण हुन लागेको भवन सिँचाइ आयोजनाको ७५ प्रतिशत काम पूरा भएको उहाँले बताउनुभयो । बजेट अभावका कारण यी सिँचाइ आयोजनाको कामसमेत प्रभावित हुने गरेको उहाँको भनाइ छ । “बजेट अभावले गर्दा कामले गति लिन सकेको छैन”, उहाँले भन्नुभयो, “यी आयोजनाका लागि करीब रु नौ करोड बजेट आवश्यक छ ।”
त्यस्तै निर्माण भइरहेको खटारे सिँचाइ आयोजनाको काम ५० प्रतिशत पूरा भएको छ, भने जिपपुरे सिँचाइ आयोजनाको काम २० प्रतिशत पूरा भएको उहाँले जानकारी दिनुभयो । यी दुई सिँचाइ आयोजनाको काम पूरा गर्न रु आठ÷आठ लाख बजेट आवश्यक रहेको उहाँको भनाइ छ । पछिल्लो समय दाङमा उचित सिँचाइ नहुँदा खेत बाँझै राख्नुपर्ने बाध्यता छ ।
अटोभिलेजका लागि रु दुई करोड
तुलसीपुरमा नयाँ स्थानमा निर्माण भएको अटोभिलेज संरक्षणका लागि करीब रु दुई करोड बजेट छुट्याएको छ । तुलसीपुर उपमहानगरपालिकाका ६ र ९ नं वडाको बीचमा पर्ने पातुखोलामा निर्माण भएको उक्त अटोभिलेजलाई सुरक्षित राख्न संघीय सरकारको ४० प्रतिशत समपूरक अनुदान र प्रदेश सरकारको ६० प्रतिशत अनुदानबाट उक्त बजेट छुट्याइएको हो ।
अटोभिलेज संरक्षण गर्न ३१७ मिटर लम्बाइको आरसिसी तटबन्ध निर्माणका लागि रु एक करोड ९० लाख बजेट आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख गणेश मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार पातुखोलाको वडा नं ६ तर्फ पर्ने किनारमा तटबन्ध निर्माण हुनेछ । उक्त तटबन्ध निर्माणको काम चालू आर्थिक वर्ष्भित्र सकिने र त्यसका लागि गत आइतबार बोलपत्रसमेत आह्वान भइसकेको उहाँको भनाइ छ ।
यसअघि उपमहानगरपालिका र व्यवसायीको करीब रु डेढ करोड लागनीमा वडा नं ९ तर्फ तटबन्ध गर्ने काम भइरहेको अटोभिलेज व्यवस्थापन समितिका उपाध्यक्ष पदमप्रसाद पोखरेलले बताउनुभयो । “पातुखोलाको किनारमा हामी अटो व्यवसायी बसेका छौँ”, उहाँले भन्नुभयो, “तटबन्ध निर्माण नभए वर्षात्मा अटोभिलेज बगाउने डर थियो, तर अब दुवैतर्फ तटबन्ध निर्माण हुने भएपछि भने ढुक्क भएका छौँ ।”
तुलसीपुर बसपार्कमा बस्दै आएका अटो व्यवसायीलाई खाली रहेको पातुखोलाको जग्गालाई व्यवस्थापन गरी त्यहाँ सारिएको छ । तुलसीपुर बसपार्कलाई आधुनिक बनाउन त्यहाँबाट व्यवसायीलाई भर्खरै मात्रै उक्त स्थानमा सारिएको हो । अहिले करीब डेढ सय अटो व्यवसायी त्यहाँ बस्दै आएका छन् । व्यवसायी तथा उपमहानगरपालिकाको गरी करीब रु आठ करोडको लागतमा अटोभिलेज निर्माण भएको हो ।
पुल आवश्यक
पातुखोलाको दुवैतर्फ किनारामा अटोभिलेज निर्माण भएकाले व्यवसायी तथा सेवाग्राहीलाई वारपार गर्न पुल निर्माण आवश्यक रहेको उपाध्यक्ष पोखरेलले बताउनुभयो । उहाँका अनुसार त्यसका लागि स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारलाई आफूहरुले ध्यानाकर्षण गराएको समेत बताउनुभयो । साथै उपमहानगरपालिकाबाट समेत त्यसका लागि पहल भइरहेको उहाँले बताउनुभयो । पुल निर्माणका लागि उपमहानगरले केन्द्र सरकारसँग रु २५ करोड बजेट माग गरेको उहाँले जानकारी दिनुभयो । (रासस)

प्रकाशित मिति : ७ चैत्र २०७५ बिहिबार ००:००  १ : ५३ बजे