५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनापछि उद्धारमा संलग्न ३ प्रहरी पुरस्कृत



काठमाडौं ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको उद्दार कार्यमा खटिएका ताप्लेजुङका तीन प्रहरी पुरस्कृत भएका छन्। उनीहरुलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो।
ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदीमा कार्यरत तीन प्रहरी कर्मचारी फागुन महिनाको ’बेस्ट पुलिस अफ द मन्थ’ चुनिएका हुन्। पुरस्कृत हुनेमा प्रहरी हवल्दार वेद कुमार अर्याल, प्रहरी जवान उपेन्द्र राई र प्रहरी जवान मनोज कुमार चौधरी छन्।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मुल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील, कर्तव्यनिष्ठ र उच्च मनोवलका साथ कर्तव्यपथमा तल्लीन रही कार्य सम्पादन गर्ने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सिस्ने भिरमा फागुन १५ गते पर्यटनमन्त्री अधिकारी चढेको हलिकोप्टर दुर्घटनामा परेका बेला उनीहरुले उद्दार कार्य गरेका थिए।

उनीहरुले दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएपछि घटनास्थलमा कर्तव्य पालनाको सिलसिलामा आफ्नो जिउज्यानको पर्वाह नगरी अतिजोखिमपूर्ण अवस्थामा अनवरत रुपमा काम गरेका थिए।
उद्धार तथा खोजतलास एवम् शव संकलन गर्ने कार्यमा खटिई देश र नागरिकसमक्ष नेपाल प्रहरीको छवि उच्च बनाएको भन्दै उनीहरुको प्रशंसा समेत गरिएको थियो।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिँदै आएको छ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  १० : २१ बजे