५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गुल्मीमा हर्षाेल्लास साथ होली मनाईदै (फोटो फिचर)



शिवलाल सुवेदी, गुल्मी ।
पहाडी जिल्लाहरुमा आज हर्षोल्लासका साथ होली मनाइँदैछ । गुल्मीमा पनि आज धुमधामका साथ होली खेलेर यो पर्व मनाईदै छ । जिल्लामा केटाकेटीदेखि युवाहरु र पाका नागरिक पनि रमाइलो गर्दै होली खेलेका छन । होलीमा सार्वजनिक विदा भएकाले सदरमुकाम तम्घास वजारमा अधिकाश होली खेल्नेहरुको मात्रै भेटिन्छन् । विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ ।
होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ । बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुल्क पूर्णिमाको दिन मनाइन्छ । शुल्क पूर्णिमाभन्दा एक साता अगाडि काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि होली सुरु भएको मानिन्छ । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर होली पूर्णिमाको भोलिपल्ट जलाइन्छ ।
होली पर्व असत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिएको बताइन्छ । होलीको अवसरमा बिभिन्न संघसंस्थाले होली विशेष कार्यक्रम आयोजना गरेका छन् ।
यता प्रहरी प्रशासनले होलीमा हुनसक्ने झैझगडाहरुलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था राम्रो वनाईएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन । उनका अनुसार होलीमा कसैको ईच्छा विपरीत रगं दल्ने, जथाभावी रगं खेलेर मदिरा सेवन गरि होहल्ला गरि हिडेमा प्रहरीले कारवाही गर्ने सार्वजनिक सुचना जारी गरेकाले सचेत हुन आग्रह गरेका छन ।
साथै मदिरा सेवन गरि सवारीसाधन नचलाउन जिल्ला ट्राफिक प्रहरीले अनुरोध गरेको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले होलीमा मादक पदार्थ सेवन गर्ने तथा मोटरसाईकलमा ३ जना राखेर मोटरसाईकल चलाउदाँ दुर्घटना हुनसक्ने भएकोले त्यसो नगर्न आग्रह गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ७ : ५२ बजे