५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

धनकुटामा आगलागी, दुई करोडभन्दा बढीको क्षति



धनकुटा ।

धनकुटाको चौबिसे गाउँपालिका–५ सदाममा आगलागीबाट चार घर नष्ट हुँदा २ करोडभन्दा बढीको क्षति भएको छ ।

बस्ती नजिक रहेको छरुवाखोलाको बगरमा रहेको काँस जलाउने क्रममा आगो हावाले उडाएर बस्तीमा प्रवेश गरेको थियो । आगलागीबाट स्थानीय काँसीबहादुर लिम्बू, शहरमान लिम्बू, औसन लिम्बू र धनवीर याखाको घरसहित गोठ जलेर नष्ट भएको चौविसे गाउँपालिका–५ का वडाध्यक्ष पदमकुमार देवानले बताउनुभयो ।

घरमा कोही नभएको अवस्थामा दिउँसो साढे २ बजे भएको आगलागीबाट चारै घरपरिवारको घर, गोठ, लत्ताकपडा, नगद, गरगहना, पसल, मिल, पशु चौपायालगायत आँप र लिचीको बगान समेत नष्ट भएको वडाध्यक्ष देवानले बताउनुभयो ।

घटना पछि बुधबार बिहान प्रहरीसहित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघको टोली घटनास्थल पुगेको छ । आगलागी पीडितहरुलाई गाउँपालिकाले तत्काल राहत स्वरुप नगद १५ हजारका दरले वितरण गरेको छ भने नेपाल रेडक्रस सोसाइटी धनकुटाले लत्ताकपडा, भाँडाकुडा र उद्योग वाणिज्य संघले खाध्यान्न वितरण गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ७ : ४५ बजे