५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राष्ट्रपति र उपराष्ट्रपतिद्धारा होलीको शुभकामना



काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) पर्वले सबै नेपालीबिच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेकी छन् ।
होलीका अवसरमा राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै यस पर्वले सबैमा नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ ।
सन्देशमा नेपालको मौलिक पहिचान स्थापित गराउँदै राष्ट्रपतिले सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने बताएकी छन् । होलीजस्ता पर्वले अमूल्य संस्कृतिहरूको संरक्षण र प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रहसमेत उनले शुभकामना व्यक्त गरेकी छन् ।
सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा खुशी र हर्षोल्लासपूर्वक रङ्गमा रमाएर होली पर्व मनाउने प्रचलन रहेको सन्देशमा उल्लेख गरिएको छ । होली पर्व यही बुधबार र बिहीबार मनाइँदैछ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रका हामी नागरिक भाषा, कला, संस्कृतिले अत्यन्तै धनी रहेको बताएका छन् ।
होली पर्वका अवसरमा उनले दिएको शुभकामना सन्देशमा काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली भेगमा फागु पूर्णिमाको दिन र तराई–मधेसमा भोलिपल्ट भव्यरूपमा मनाइने यस पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  २ : ४३ बजे