५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आपसी वैमनस्यता र असमझदारी बिर्सेर अघि बढ्न प्रधानमन्त्रीको आग्रह



काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्णमा आग्रह गरेका छन् ।
फागु पूर्णिमाका अवसरमा बुधबार शुभकामना दिँदै उनले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्लेख गरेका छन् । ‘देशलाई द्रुत गतिमा आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर गराइँदै गरिएको आजको परिप्रेक्ष्यमा हामी सम्पूर्ण नेपाली अझ बढि एकताबद्ध हुन जरुरी छ’, प्रधानमन्त्रीओलीको सन्देशमा उल्लेख छ ।
‘नेपालभरि र बाहिर पनि खुशीयाली प्रकट गर्दै होली अर्थात् पानी र रङ्ग खेलेर मनाइने यस पर्वका अवसरमा म फेरि एकपटक हाम्रो राष्ट्रिय सङ्कल्पको स्मरण गर्न चाहन्छु,’ उनले सन्देशमा उल्लेख गरेका छन् ।
भाषिक, सांस्कृतिक र जातीय विविधतामा एकता सारा विश्वले थाहा पाएको नेपाली विशेषता भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
सन्देशमा भनिएको छ, ‘फागु पूर्णिमाले विभिन्न मातृभाषाका विविध संस्कृति अङ्गीकार गर्ने सबै जातजातिका सम्पूर्ण नेपालीबीचको सद्भाव र सुसम्बन्ध अझ मजबुत बनाउन प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  २ : ४० बजे