५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विप्लवलाई समुन्नतिको बाटोमा आउन कांग्रेसको आग्रह



काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छाडेर आफै सहभागी भएको संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन आह्वान गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको मंगलबार बसेको बैठकले चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छोडेर आफै सहभागी भएको संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन आह्वान गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले संवाद र सहमतिकै बाटोबाट चन्द नेतृत्वको नेकपालाई विश्वासमा लिएर अघि बढन सरकारलाई शासकीय क्षमता प्रर्दशन गर्न पनि आग्रह गरेको छ ।

निषेधबाट नभई संवाद र सहमतिकै आधार चन्द नेतृत्वको नेकपालाई विश्वास लिएर अघि बढन सरकारलाई शासकीय क्षमता देखाउन पनि बैठकले आग्रह गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकले पार्टीको केन्द्रीय निर्वाचन समिति पनि बनाएको छ । पार्टीका राष्ट्रिय सभाका सांसद एवम् वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी संयोजक रहनु भएको ५ सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिका सदस्यहरुमा खम्बबहादुर खाती, एकराज पोखरेल, गोपालकृष्ण घिमिरे र सिताराम केसी रहनु भएको पनि प्रवक्ता शर्माले बताउनुभयो ।

त्यसैगरी पार्टी महासमिति बैठकले तयार पारेको विधानलाई पारित गर्न नेता रमेश लेखक नेतृत्वको नियमावली निर्माण समिति पनि गठन गरिएको छ । प्रवक्ता शर्माले पार्टी महासमिति बैठकले तयार पारेको विधान अनुमोदनका लागि नेता लेखक संयोजक तथा ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, प्रदिप पौडेल र जीवन परियार सदस्य रहनु भएको नियमावली निर्माण समिति पनि बनाइएको बताउनुभयो ।

कांग्रेसले नेता भिष्मराज आङदेम्बे संयोजक रहनु भएका केन्द्रीय अनुशासन समितिमा पनि उमाकान्त चौधरी र धनराज गुरुङ थप गरी पूर्णता दिएको छ ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकले आङदेम्बे संयोजक तथा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर सदस्य रहेको केन्द्रीय अनुशासन समिति गठन गरेको थियो । त्यसमा चौधरी र गुरुङलाई थप गरी समितिलाई पूर्णता दिइएको पनि पार्टीका प्रवक्ता शर्माले बताउनुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  ३ : ४५ बजे