१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सुकुम्बासी बस्तीका अग्नीपीडितलाई विभिन्न निकायबाट राहत



सीताराम चौधरी, कपिलवस्तु ।

आगलागीबाट घरबार विहीन भएका कपिलवस्तुको शिवराज नगरपालिका १, बनकसबासाका चार घरपरिवारलाई विभिन्न निकायले राहत दिएका छन् ।

विभिन्न निकायका प्रतिनिधि पीडित बस्तीमा पुगी राहत स्वरुप खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, शैक्षिक सामग्री र नगद वितरण गरेका हुन् । प्रदेश सांसद अर्जुनकुमार के.सी. र शिवराज नगरप्रमुख नेत्रराज अधिकारीको उपस्थितिमा राहत वितरण गरिएको थियोे । आगलागीबाट प्रजित नेपाली, रमेश नेपाली, धन वहादुर परियार र पूर्ण वहादुर नेपाली विचल्लीमा परेपछि राहत सामग्री दिने दाताहरु अग्रसर भएका हुन् ।

पीडित परिवारलाई शिवराज नगरपालिकाले विपद व्यवस्थापन कोषबाट नगरप्रमुख नेत्रराज अधिकारीले प्रति घरपरिवारलाई ५ हजारका दरले नगद प्रदान गरेका थिए । नगद सहयोग गर्दै नगरप्रमुख अधिकारीले बर्षेनी हुने यस्ता आगलागीका दुर्घटना न्यूनीकरणका लागि जनचेतना फैलाउनु पर्नेमा जोड दिए । आगलागीले खरानी बनाएको घरलाई पुनः खडा गर्न नगरपालिकाको तर्फबाट पनि सक्दो सहयोग उपलब्ध गराउने अधिकारीले प्रतिबद्धता जाहेर गरे ।

अग्नीपीडित परिवारका लागि मनकामना सामुदायिक वनको तर्फबाट गलैचा, तन्ना लगायतका लत्ता कपडा प्रदान गरिएको अध्यक्ष रामबहादुर के.सी.ले जानकारी दिए । यस्तै एकीकृत सुरही सामुदायिक वनले भाँडाकुँडाका सेट प्रदान गरेको अध्यक्ष गुणानिधि शर्माले बताए ।

यता ओम इलेक्ट्रोनिक्स चन्द्रौटाले विद्यार्थीका लागि ब्याग र स्टेशनरीका सामानहरु प्रदान गरेको महादेव पोखरेले जनाए । आगोले विद्यार्थीका शैक्षिक सामाग्री जलेर नष्ट भएकाले स्टेशनरी र व्याग सहयोग गरेको पोखरेले बताए । यस्तै रोटरी क्लब अफ कपिलवस्तुले प्रत्येक परिवारका लागि २ सेट कपडा वितरण गरेको अध्यक्ष तोयानाथ गैरेले जानकारी दिएका छन् ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटी वडा १ र ५ ले राहत सामग्री अन्तर्गत प्रतिघर चामल, दाल, तेल, नुन, आलु लगायतको खाद्य सामग्री वितरण गरेको नेकपाका वडा १ का वडाध्यक्ष विक्रम के.सी.ले बताए ।

राहत वितरण कार्यक्रममा पुगेका प्रदेश सांसद अर्जुन कुमार के.सी.ले प्रदेश सरकारबाट घर निर्माणका लागि प्रति घरलाई ३० हजार बराबरको जस्तापाता, हुक, किलाकाँटी र राहत स्वरुप नगद १० हजार प्रदान गरिने बताए । उनले आगलागीबाट हुने धनजनको क्षतिलाई कम गर्न सावधानी अपनाउनुपर्नेमा जोड दिए । प्रदेश सरकारको सहयोग पाउनको लागि पीडित आफैंले घर उभाउनुपर्ने र छानो प्रदेश सरकारले लगाइदिने प्रतिवद्धता व्यक्त गरे ।

राहत सामाग्री संकलनमा महादेव पोखरेल, विक्रम के.सी., जगत जि.सी. गणेश के.सी., रामचन्द्र के.सी, रोशन एम.सी. दर्लजन के.सी., राम बहादुर के.सी., ढुण्डिराज अधिकारी, राधेश्याम चौधरी, शरद अधिकारी, तोयानाथ गैरे र हरि बस्नेतले सहयोग गरेको बताइएको छ ।

यसअघि नेपाली कांग्रेसले प्रति चार घरपरिवारलाई १० वटाका दरले जस्तापाता सहयोग गरेको छ । यसका साथै नेपाल तरुण दलले विस्तरा, झुल, त्रिपाल, खाद्य सामग्री लगायत करीब ५० हजारको राहत वितरण गरेको युवा नेता अजय थापाले जानकारी दिएका छन् । यसैगरी शिवराज जेसीजले समेत बनकसबासाका अग्नीपीडितलाई अत्यावश्यक खाद्य सामग्री, भाँडाकुँडा तथा बालबालिकाहरुलाई स्टेशनरी वितरण गरेको अध्यक्ष सरोज पौडेलले जानकारी दिएका छन् । गत चैत २ गते साँझ आगलागी हुँदा चार घरपरिवार विचल्लीमा परेका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  २ : ३६ बजे