५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बुटवल स्थित ‘रातो घर’ प्रहरीको कब्जामा



काठमाडौं । 

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले कब्जा गरेर प्रयोग गर्दै आएको ‘रातो घर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुटवल–पाल्पारोड स्थित् ‘रातो घर’ भनेर चिनिएको राष्ट्रिय वाणिज्य बैंकको भवन लामो समयदेखि विप्लव समूहले कब्जामा लिएर प्रयोग गर्दै आएको थियो । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको एक सातापछि प्रहरीले ‘रातो घर’ आफ्नो नियन्त्रणमा लिएको हो ।

सोमबार राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी लिएर रातो घर पुगेको प्रहरी टोलीले ताल्चा फोरेर पार्टीको झण्डा, ब्यानर, साइनबोर्ड हटाएर वाणिज्य बैंकले ताला लगाएको छ । कार्यालयमा कुर्सी, टेबल लगातयका फर्निचर बाहेक कुनै महत्वपूर्ण कागजात फेला नपरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । यसैबीच, विप्लव समूहका रुपन्देही जिल्ला इन्चार्ज शरद ओली र सेक्रेटरी अमर आरसीले संयुक्त विज्ञप्ति जारी गर्दै घर खाली नगर्ने बताएका छन् ।

विज्ञप्तिमा वाणिज्य बैंकले लगाएको ताल्चा तोडेर आफ्नो पार्टीले ताल्चा लगाएको र पार्टी कार्यालय यथावत रहेको जनाएको छ । सरकारले हस्तक्षेप गरेमा पार्टीले कठोर निर्णय लिन बाध्य हुने चेतावनी समेत उनीहरुले दिएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  ६ : ४० बजे