५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

तोकिएकै दररेटमा शुल्क उठाउने ठेकेदारको प्रतिवद्धता



मायादेवी अनलाइन, वाणगंगा ।
नदीजन्य पदार्थको निकासीमा तोकिएको भन्दा बढी दररेट नलिने ठेकेदारले प्रतिबद्धता व्यक्त गरेका छन् । बुद्धभूमि नगरपालिकाका विभिन्न नाकाबाट ठेकेदारले बढी शुल्क उठाएको भन्दै नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुले विरोध गर्दै आएको थियो । समितिको विरोध पछि ठेकेदार र सरोकारवाला पक्ष बीच छलफल भएको छ । छलफलमा ठेकेदारले तोकेको भन्दा बढी रकम नदिएको र आगामी दिनमा पनि नलिने प्रतिबद्धता जनाएका छन् ।
साथै आगामी दिनमा जिल्ला अनुगमन तथा व्यवस्थापन समिति, सम्बन्धित स्थानीय तहको अनुगमन समितिले अनुगमन गर्दा सम्बन्धित ठेकेदारका प्रतिनिधि र नेपाल किसान ट्याक्टर समितिको प्रतिनिधिले संयुक्त अनुगमन गर्ने व्यवस्था समबन्धित स्थानीय तहले मिलाउने निर्णय भएको नेपाल किसान ट्याक्टर समितिका महासचिव झविन्द्र खनालले जानकारी दिनुभयो ।
यसैगरी बैठकमा शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा नदीजन्य पदार्थको ठेक्का नियम सम्मत नभएको भन्दै नियम सम्मत गराउन आग्रह गरिएको छ । नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ बमोजिम ठेक्का सञ्चालन गर्न बैठकले आग्रह गरेको महासचिव खनालले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  २ : ५८ बजे