५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आजको आवश्यकता व्यावहारिक र सीपमूलक शिक्षाः पाण्डेय



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको बाणगंगा नपा–२, पिपरा अवस्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानले एक विशेष कार्यक्रमको आयोजना गरी प्रशिक्षार्थीहरुलाई विदाई कार्यक्रम गरेको छ । २०७४÷०७५ अध्ययन पूरा गरेका ल्याव, अमीन, अहेव, अनमीका प्रशिक्षार्थी विद्यार्थीहरुलाई २०७५÷०७६ का विद्यार्थीहरुले विदाई गरेका हुन् । कार्यक्रममा प्रशिक्षार्थी तथा शिक्षक शिक्षिकाहरूले विद्यार्थीहरुलाई उज्जवल भविष्यको कामना गर्नुका साथै भविष्यलाई समुज्वल बनाउन थप मिहिनेत र लगनशीलता हुनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक तथा संस्थापक राम अधिन पाण्डेयले प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण हाम्रो देश विकासमा पछाडि परेको र प्राविधिक ज्ञान भएकाहरू कोही पनि बेरोजगार बन्न नपर्ने हुँदा आजको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा भएकोले उक्त शिक्षा प्रदान गर्नु प्रतिष्ठानको उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि संस्थाका कार्यकारी निर्देशक अरुण कुमार पाण्डेयले पछिल्लो समय विद्यार्थीहरु व्यावहारिक तथा व्यावसायिक शिक्षा आर्जन गर्न उत्साहित देखिएको आफूले पाएको र यसबाट देशले छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न सक्ने विश्वास आफूले लिएको बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथि संस्थाका प्रिन्सिपल पुनित कुमार मिश्रले प्राविधिक शिक्षा नभएका कारण नेपाली युवा जनशक्ति खाडी मुलुकहरूमा तल्लो स्तरको कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएकाले देश विकासको लागि प्राविधिक शिक्षा अत्यन्त आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुका साथै विदाई भएर जाने विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । रिया शुक्लाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अमित भुसाल र डम्मर कुमारी खड्काले गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  २ : ४५ बजे