५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विद्यालयमा राजनीति बन्द गराउन अभिभावक ताते, नेता परे जिल्ल !



मायादेवी अनलाइन, महाराजगंज ।
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं. ३ मा रहेको पियुषराज निमाविका अभिभावकले राजनीतिक हस्तक्षेपमा गरिएको व्यवस्थापन समिति गठन प्रक्रियाको विरोध गरेका छन् । केही राजनीतिक व्यक्ति र गैर अभिभावकको भेला गराई सर्वसम्मतको नाममा गरिएको समिति गठन गैरकानूनी भएको भन्दै विरोध गरेका हुन् ।
विद्यालयमा रहेका ५२ प्रतिशत अभिभावकले आइतबार संयुक्त हस्ताक्षर गरि विद्यालयमा सर्वसम्मतको नाममा जथाभावी व्यक्तिलाई विद्यालयको व्यवस्थापकीय जिम्मेवारी दिन नसक्ने भन्दै विरोध जनाएका छन् । यस संगै केही दिन अघि सर्वसम्मत रुपमा गरिएको भनिएको व्यवस्थापन समिति गठन प्रक्रिया विवादित बन्न पुगेको छ । राजनीतिक सहमतिको नाममा जुनसुकै व्यक्तिलाई विद्यालयको जिम्मा दिन नसक्ने भन्दै विद्यालयलाई राजनिति गर्ने थलो नबनाउने अभिभावकहरुले प्रतिबद्धता जनाएका छन् ।
नगरपालिकाका जनप्रतिनिधिहरुको दबाबमा निर्वाचन प्रक्रिया वा बहुमतिय प्रक्रिया भन्दा पनि कोठे राजनीतिक सहमतिमा व्यवस्थापन समिति गठन भएको श्रोतको दाबी छ । फागुन ३० गते विद्यालय प्रशासन र राजनीतिक दलका साथै जनप्रतिनिधिले सर्वसम्मतको नाममा समिति गठन गरेको अभिभावक रामलखन यादवको आरोप छ ।
विद्यालयमा ६५ जना अभिभावकहरुले हस्ताक्षर गरी निवेदन दिएको विद्यालयका प्रधानाध्यापक अयोध्या प्रसाद वरइले बताउनुभयो । “अभिभावले मान्दैनौ भनि निवेदन दिएका छन्, बहुमत अभिभावकले निवेदन दिए पछि मैले पनि मान्नु प¥यो प्र.अ. वरइले भन्नुभयो ।”
विद्यालयमा कुल अभिभावक संख्या ११० जना रहेको विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष विजय जैयसवालले बताउनुभयो । ११० जना मध्ये ६५ जनाले सर्वसहमतिबाट आएका पदाधिकारीलाई मान्दैनौ भनेका छन् उहाले भन्नुभयो । “भेलामा गैर अभिभावकको पनि उपस्थिती गराई सर्व सम्मतीबाट पदाधिकारी चयन भन्ने भ्रामक प्रचार गरियो” अभिभावक राम लखन यादवले भन्नुभयो । अभिभावकहरुले सर्वसम्मतका नाममा गरिएको समिति खारेज गरि प्रक्रिया अनुसार समिति गठन गर्न र नगरे विद्यालय विरुद्ध प्रशासन र अदालत जाने समेत चेतावनी दिएका छन् ।
विद्यालय व्यवस्थापन समिति गठनमा विवाद आए पछि र अभिभावकहरुको निवेदन परेपछि नयाँ पदाधिकारीलाई बैठक बस्न नदिएको प्र.अ.वरइले जानकारी दिनुभयो । विद्यालयका प्र.अ.ले पनि ३० गते भएको अभिभावक भेलामा गैर अभिभावकहरुको उपस्थिती रजिष्टरमा भएको स्वीकार गरेका छन् । सर्वसम्मत गर्ने भनेपछि आफुले पनि सामान्य रुपमा लिएको तर अहिले विवाद भएपछि समस्या आएको बताउनुभयो ।
विद्यालय रहेको वडाका अध्यक्ष नैनदास मुराउले भने अभिभावकहरुको भेला सर्वसम्मतिबाट समिति सदस्यहरु चयन भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समिति गठन गर्न शिक्षा ऐन २०३८ तथा शिक्षा नियमावली २०५९ को आठौं संसोधन अनुसार अभिभावकहरु मध्येबाट २ महिला सहित ४ जना सदस्यहरु छनौट हुनु पर्ने र सोही छनौट भएका ४ जनाले २ जनालाई मनोनित गर्नु पर्ने प्रावधान रहेको छ । सर्वसम्मत रुपमा समिति छनौट गर्न सकिने तर बहुसंख्यक अभिभावकले विरोध जनाए प्रक्रियामा गई समिति गठन गर्नुपर्ने शिक्षा समन्वय इकाई कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  ४ : २१ बजे