५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाली कांग्रेसको बैठक बस्दै, के के छन् छलफलका एजेण्डा ?



काठमाडौं । 

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमबारका लागि बोलाइएको छ । सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक परिवेशमा पार्टीमा भूमिकाबारे छलफल गर्न सोमबारदेखि बस्ने गरि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न सभापति देउवाले आइतबार आफ्नो निवास बुढानीलकण्डमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक राखेका थिए । तर बैठकमा कुनै सहमति जुट्न सकेन ।सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनी इतरका नेताहरुले मोर्चाबन्दी गर्ने घोषणा गरेका बेला बोलाइएको बैठकमा सहमति नजुटेपछि केन्द्रीय कार्यसमितिको बैठक नै धरापमा पर्ने देखिएको छ ।

रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताले देउवाले पार्टी संस्थागत निर्णयले नभई एकलौटी रुपमा चलाएको भन्दै आलोचना गर्दै आएका छन् । उनीहरुले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने यसअघि नै निर्णय गरेका छन् ।

यसअघिको केन्द्रीय कार्यसमिति बैठक नै उनीहरुले देउवाको कार्यशैली सुधार नभएसम्म सहभागी नहुने भन्दै बहिस्कार गरेका थिए । देउवा इतरका नेताहरुले सोमबारदेखि सुरु हुने बैठक पनि बहिस्कार गर्ने बताएका छन् ।

आज बेलुका चार बजेदेखि सुरु हुने भनिएको बैठकमा पार्टीको अनुशासन आयोग र अरु केही आयोग तथा नेविसंघको महाधिवेशनका लागि तदर्थ समिति बनाउने विषयमा छलफल हुने तयारी छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  ३ : ३४ बजे