५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

‘जनशक्ति अभाव प्रदेश ५ को कृषि क्षेत्रको प्रमुख समस्या’



बाँके ।
प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आइतबार गृह जिल्ला बाँकेको नेपालगञ्जमा पत्रकार सम्मेलन गरी मन्त्रालयका गतिविधि सार्वजनिक गर्नुभएको छ ।
मन्त्रालयले तीन बर्षभित्र दूध, मासु, माछा र अण्डा उत्पादनमा प्रदेशको आवश्यकता अनुसार, आन्तरिक श्रोतबाटै परिपूर्ति गर्ने लक्ष्य सार्वजनिक गरेको
छ । यसैगरी कृषि अनुदान, बजारीकरण लगायतका माध्यमबाट उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जनशक्तिको अभाव, सङ्घ तथा स्थानीय सरकारसँगको समन्वय र सहकार्यको अभाव लगायतका चुनौती विद्यमान रहेको मन्त्री पौडेलले बताउनुभयो । प्रदेश सरकारले कोहलपुर नगरपालिका १५ का ४५ घरपरिवार लोपोन्मुख चिडिमार समुदायलाई घर निर्माणका लागि चार करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।
चार अर्ब सात करोड रुपैयाँ बजेट रहेकोमा हालसम्म १७ दशमलव ३ प्रतिशत बजेट मात्रै खर्च भएको मन्त्री पौडेलले जानकारी दिनुभयो । ६ विधेयक, १८ कार्यविधि र १५ निर्दे्शिका निर्माण गरिएको छ ।
प्रदेशमा शीतभण्डार, स्मार्ट कृषि गाउँ, कृषि व्यवसाय अनुदान कार्यक्रम, कृषि बजार सुधार, कृषि यान्त्रिकीकरण कार्यक्रम, भूमिहीनलाई करार खेतीमा अनुदान लगायतका कार्यक्रम सञ्चालन गरिएको मन्त्री पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  ११ : ३५ बजे