५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपालको राष्ट्रिय गीत गुनुनाउँदै सिके राउतको वैठक सुरु, नेपाली नागरिकता अनिवार्य



लहान ।
सरकारसँग ११ बुँदे सहमति गरेर मधेस झरेका पूर्वपृथकतावादी नेता सिके राउतको ‘स्वतन्त्र मधेस गठबन्धन’ को राष्ट्रिय परिषद बैठक राष्ट्रिय गान गाउँदै लाहानमा सुरु गरिएको छ ।रातो साडीचोलोमा सजिएका पञ्चकन्याले बैठकको सुरुवातमा ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली’ बोलको राष्ट्रिय गान गाएसँगै सिके राउत समूहको बैठक शुरु भएको हो ।सिरहाको लहानमा आइतवार अपरान्ह शुरु भएको दुई दिने बैठकका सहभागीहरुलाई नेपाली नागरिकता देखाउन अनिवार्य गरिएको छ ।नेपाली नागरिकता प्रमाणपत्र देखाएर मात्रै बैठक हलमा प्रवेश गराइएको प्रत्यक्षदर्शी पत्रकार वीरेन्द्र केएमर्ले जानकारी दिए ।
डा. सिके राउतले स्वतन्त्र मधेसको एजेण्डा नछाडेको भनेर आलोचना भइरहेका बेला बैठकमा राष्ट्रिय गान र नागरिकता अनिवार्य गरेर पृथकतावादी अभियान त्यागेको सन्देश दिन खोजिएको स्रोतले जनाएको छ ।दुई दिन चल्ने बैठकले भावी रणनीति तय गर्नेछ ।यसैवीच गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा सम्वोधन गर्दा अब सिके राउतले ‘स्वतन्त्र मधेस गठबन्धन’ नाम फेर्नुपर्ने बताइसकेकाले पार्टीको नामका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  १० : ५७ बजे