५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अनिता पौडेलका हत्यारा पत्ता लाग्यो !



मायादेवी अनलाइन, वाणगंगा ।

गत फाल्गुण १० गते मध्य रातमा धारिलो हतियारको प्रयोगबाट हत्या गरिएकी अनिता पौडेलको हत्यारा पत्ता लगाई सकिएको प्रहरीले दाबी गरेको छ । विशेष स्रोतले मायादेवी अनलाइनलाई दिएको जानकारी अनुसार हत्यारालाई केही दिनमै सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

हत्यारा पत्ता लगाउन अनिताका आफन्तजन, स्थानीयबासी र सरोकारवालाले पटक पटक दबाब दिदै आएपनि हाल सम्म हत्यारा पत्ता लाग्न सकेको थिएन । तर, प्रहरीले घटनामा संलग्नहरु पत्ता लागिसकेको दाबी गरेको छ ।

अबका दुई तीन दिनमा सबै प्रक्रिया पूरा गरी पत्रकार सम्मेलनबाट हत्यारा सार्वजनिक गर्ने प्रहरीको तयारी छ । यद्यपि अनिताका हत्यारा को हुन् अझै सम्म थाहा भएको छैन् । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा अनिताका श्रीमान विष्णु पौडेल सहित चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरु अनुसन्धानको लागि प्रहरी हिरासतमा छन्

अनिताका आफन्त र स्थानीयबासीले अनिताको हत्या परिवारबाटै भएको दाबी गर्दै आएका छन् । घरायसी विवादकै कारण उनको हत्या भएको उनीहरुको दाबी छ । अनिता र उनका श्रीमान विष्णु बीच लामो समय देखि विवाद हुँदै आएको थियो । उनले दोस्रो विहे पनि गरेका छन् । विष्णुले दोस्रो श्रीमतीलाई भारतमा राखेका छन् ।

अनिताको फाल्गुण १० गते मध्यरातमा पाहुना बनेर आएका दुई जना व्यक्तिले हत्या गरेका थिए । उनलाई विषादी खुवाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको पोष्ट्मार्टम रिर्पोटले देखाएको छ । यद्यपि एक साता सम्म उनको हत्या पेस्तोलको प्रयोगबाट भएको आशंका हुदै आएको थियो ।

यसैबीच अनिता पौडेलका आफन्तले तेह्रौ दिनको पुण्य तीथि सम्पन्न गरेका छन् । हत्या भएको झण्डै १२ दिन पछि उनको दाहसंस्कार गरिएको थियो । आज घरपरिवारले १३ औं दिनको पुण्य तिथी गरेका छन् । अनिताका ७ बर्षिय छोरा गगन पौडेल, ९ बर्षिय छोरी दिव्या पौडेल छन् । अनिताका परिवारले दोषिलाई चाडै भन्दा चाडै प्रक्राउ गरी न्याय दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  १ : ३१ बजे