५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

फोन गर्ने बाहानामा मोबाइल चोरी गर्ने व्यक्ति पक्राउ



दाङ ।
लमहीमा अनिश अहमदको साइकल पसल छ । साइकल पसलमा ग्राहक बनेर आएका एक व्यक्तिले फोन गर्छु भन्दै मोबाइल मागे । अनिशले सहजै दिए । फोन गर्दै अलि पर पुगेका ती व्यक्ति फोनमा कुरा गर्ने बाहानामा मोबाइल नै चोरी गरेर भागे ।
अर्को दिन प्रहरी कार्यालयमा उजुरी पर्‍यो । अनिशलाई प्रहरी कार्यालयसम्म पुर्‍याउन र निवेदन लेख्न चन्दन शर्माले सहयोग गरे । प्रहरी कार्यालयमा निवेदन परेपछि मोबाइल चोरीमा संलग्न व्यक्तिको खोजी सुरु भयो । वडा प्रहरी कार्यालयले नरहरी पोखरेललाई मोबाइल चोरी गरेर भागेका व्यक्तिलाई पक्राउ गर्न खटायो ।
मोबाइल चोरी गरेर भागेका व्यक्तिलाई प्रहरीको टोलीले लमही–१ नर्तिबाट पक्राउ गर्‍यो ।
पक्राउ परेका व्यक्तिको बारेमा अनुसन्धान गर्दै जाँदा चोरी मुद्दामा अदालतबाट सजाय तोकिएको तर फरार व्यक्ति रहेको खुल्यो । घोराही उपमहानगरपालिका वडा नम्बर १५ पुल्चोक निवासी २१ वर्षका रेशम बुढा मगर दुई वटा चोरी मुद्दामा अदालतबाट दोषी ठहर भएका व्यक्ति रहेको र कारागार चलान भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुणकुमार सिंहले बताए ।

‘मोबाइल चोरी भएको घटनामा अनुसन्धान गर्दै जाँदा अदातबाट दोषी ठहर भएको व्यक्ति प्रकाउ गर्न सफल भयौँ’ सिंहले भने, ‘मोबाइल चोरीको बारेमा सूचना दिएर सहयोग गर्दा झन ठूलो अपराधमा संलग्न व्यक्ति पक्राउ गर्न सकियो ।’

प्रहरीले अनिश अहमदलाई चोरी भएको मोबाइल हस्तान्तरण गरेको छ । चोरीमुद्धामा दाङ देउखुरी जिल्ला अदालतले २०७० चैत १८ मा २० दिन कैद र एक लाख ८५ हजार जरिवाना तोको थियो । यस्तै पुनरावेदन अदालत तुल्सीपुर दाङले ०७२ कार्तिक २२ मा चोरी मुद्दामा ४ वर्ष १ महिना १ दिन कैद ठहर गरेको थियो । बुढालाई पक्राउ गरी अदात पेश गरेकोमा अदालतले काराकार चलान गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  ५ : ५९ बजे