५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

न्युजिल्याण्ड मस्जिद आक्रमण-आक्रमणकारी अदालत पेश, बन्दुक सम्बन्धी कानुन परिवर्तन हुने



एजेन्सी ।

न्युजिल्याण्डको क्राइस्टचर्चमा रहेका दुई मस्जिदमा कम्तिमा ४९ जनाको ज्यान जाने गरि भएको आक्रमणमा संलग्नलाई अदालतमा पेश गरिएको छ ।शुक्रबार भएको आक्रमणमा संलग्न युवकलाई हत्या अभियोगमा अदालत प्रस्तुत गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणकारी अस्ट्रेलियाका २८ वर्षे ब्रेन्टन ट्यारेन्ट रहेको न्युजिल्याण्डको प्रहरीले जनाएको छ ।

उनलाई जेलको सेतो लुगा र हत्कडी लगाएको अवस्थामा अदालत पेश गरिएको हो । उनीविरुद्ध अरु मुद्दाहरु पनि दर्ता हुने सम्भावना छ ।प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नका अनुसार ट्यारेन्टसँग पाँचवटा बन्दुक थियो । यस्तै उनीसँग फायरआर्म्सको लाइसेन्स पनि थियो । प्रधानमन्त्री ज्यासिन्डाले बन्दुक सम्बन्धी देशको कानुन परिवर्तन गरिने बताएकी छन् ।

ट्यारेन्ट बाहेक अरु दुईजना पनि प्रहरी नियन्त्रणमा छन्, सकैको पनि यसअघि आपराधिक गतिविधिमा संलग्न भएको रेकर्ड छैन । ट्यारेन्टलाई आउँदो अप्रिल ५ मा पुनः अदालतमा पेश गरिने छ ।

दाउद नाबीका छोरा ओमर नाबी । तस्बिर : रोयटर्स

शुक्रबार भएको आक्रमणमा निधन भएका मध्ये सन् १९८० को दशकमा अफगानिस्तानबाट न्युजिल्याण्ड गएका ७१ वर्षे दाउद नाबीको पहिचान भएको छ । अरुको पहिचान सार्वजनिक गरिएको छैन ।

घटनामा ४८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई र १३ वर्षका दुई बालकको अवस्था गम्भीर रहेको छ । ज्यान गुमाउनेमा बंगलादेश, भारत र इन्डोनेसियाका नागरिक पनि छन् ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  १ : ३१ बजे