५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मुख्यमन्त्री पोख्रेल भन्छन्, ‘राष्ट्रियताको सवालमा नेपाली मिडिया चुके’



मायादेवी अनलाइन, वाणगंगा ।
५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले नेपालका सञ्चार माध्यमले राज्यको चौथो अंगको रुपमा अनूभूति गर्न नसकेको बताउनुभएको छ । सञ्चार माध्यम राज्य र राष्ट्रको हितमा उभिनुपर्नेमा त्यसो नभएको भन्दै मुख्यमन्त्री पोख्रेलले आक्रोस पोख्नुभयो । कपिलवस्तुको एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले सिके राउतलाई पृथकताबाद त्योगर संबैधानिक बाटोमा ल्याउनु ऐतिहासिक उपलब्धि भएपनि संञ्चार माध्यमले यो विषयलाई गम्भिरताका साथ प्राथमिकता नदिएको बताउनुभयो । यही विषय भारतमा हुन्थ्यो भने त्यहाँका सञ्चार माध्यमले कति महत्व दिन्थे होला एक पटक सोचौ त मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, “नेपालका सञ्चार माध्यम यस विषयमा चुके ।”
नेपालका सञ्चार माध्यम राष्ट्रको अंग हुन भने सञ्चार माध्यमले राष्ट्रिय हितलाई आफ्नो प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाली सञ्चार माध्यम प्रति खरो रुपमा उत्रिनुभएका मुख्यमन्त्री पोख्रेलले भारतीय सञ्चार माध्यम राष्ट्रियताको सवालमा सबै एकै ठाउँमा उभिने गरेको बताउँदै नेपालका सञ्चार माध्यम त्यसमा चुक्दै आएको तर्क गर्नुभयो ।
नेपाली सञ्चार माध्यममा बाह्य लगानीको प्रभाव बढ्दै जादा नेपाली सञ्चार माध्यमले राज्यको चौथो अंकको रुपमा आफुलाई उभ्याउन नसकेको उहाँको आरोप थियो । देशमा अधिनायकबाद र तानशाही फाल्नका लागि नेपाली सञ्चार माध्यमले खेलेको भूमिका प्रति प्रशंसा गर्दै मुख्यमन्त्री पोख्रेलले अहिलेका सञ्चार माध्यम प्रति आक्रोस पोख्नुभएको हो ।
कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले सञ्चार माध्यमहरु निश्पक्ष र स्वतन्त्र हुनुपर्नेमा जोड दिनुभयो । कपिलवस्तुका पुराना र पाका नेतामा रुपमा परिचित नेता उपाध्यायले नेपालमा अकल्पनिय भनिएका विषयहरु पनि राजनीति सहमतीबाट हल भएको भन्दै अहिले पनि सहमती र सहकार्यबाट अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाली जनताले नेकपालाई स्पष्ट बहुमत दिएको भन्दै जनतालाई परिणाम हुने गरि काम गरेर देखाउन आग्रह गर्नुभयो । सरकार चाहिने विषय भन्दा बाहिर गएर झेमलामा फस्न लागेको भन्दै त्यता तिर सचेत हुन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १ चैत्र २०७५ शुक्रबार ००:००  १ : ३७ बजे