५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पुख्र्यौली पेशाबाट मनग्य आम्दानी



पाल्पा ।
दलित समुदायका युवाले पुख्र्यौली पेशाबाट मनग्य आम्दानी गर्न सफल बनेका छन् । परम्परागत पेशालाई आधुनिकीकरण गरी व्यवसाय सञ्चालन गरेपछि यहाँ युवाले प्रशस्त आम्दानी लिन सफल भएका हुन् ।

छालाका जुत्ता उत्पादन गर्ने यहाँका सार्की जातिको परम्परागत पेशा हो । नेपाली, बस्याल, हिताङ्ग समुदायका युवाले परम्परागत पेशालाई आधुनिकीकरण गरेर प्रशस्त आम्दानी लिन थालेपछि युवाको आकर्षण बढेको हो ।

तानसेन वसन्तपुर शुभकामना शु सेन्टर सञ्चालक रामप्रसाद बस्यालले मासिक डेढ लाखभन्दा बढी आम्दानी हुने बताउनुभयो । दशैँ, तिहार र स्कुल भर्नाको समयमा जुत्ताको माग बढी हुने बस्यालको भनाइ छ । छालाको जुत्ता बनाउने पेशाबाट बस्यालको पाँच जनाको परिवारको प्रमुख आम्दानीको स्रोत रहेको बस्यालको भनाइ छ ।

स्थानीय निकायले स्थानीयस्तरमा तालीम सञ्चालन गरेपछि बेरोजगार युवाले सीप सिकेर व्यवसाय गर्न थालेपछि मासिक रु २० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्ने व्यवसायीको भनाइ छ । स्वदेशमा घर परिवारसँग बसेर प्रशस्त आम्दानी हुने र स्वदेशमा नै मानसम्मान पाउने भएपछि यो व्यवसायमा लाग्ने विदेश जाने सोचमा नभएको व्यवसायी बताउँछन् ।

सानो लगानीबाट प्रशस्त आम्दानी हुने भएपछि परम्परागत पेशाप्रति युवा पुस्ताको आकर्षण बढेको छ । विवाह तथा सार्वजनिक कार्यक्रम छालाको जुत्ताको प्रयोग बढेको छ । सरकारी कर्मचारी, स्कुल पढ्ने विद्यार्थीको समेत छालाको जुत्ताको प्रयोग बढेको छ । छाला जुत्ता उत्पादन गर्ने उद्योग फस्टाउन सफल भएको व्यवसायी गोविन्द नेपालीले बताउनुभयो ।

पाल्पा सदरमुकाम तानसेन र रामपुरमा छालाको जुत्ताको कारोवार बढी हुँदै आएको छ । जिल्लाको व्यापारिक केन्द्र हार्थोक, छहरा, अर्गाली, कसेनी, झडेवा, खहरे, आर्यभञ्ज्याङ, ताहुलगायतका क्षेत्रमा छाला जुत्ताको पसल विस्तार हुँदै गएको छ । (रासस)

प्रकाशित मिति : १ चैत्र २०७५ शुक्रबार ००:००  १ : ३३ बजे