१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विप्लवलाई प्रचण्डको प्रश्न-मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्छ त ?



काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई मार्नका लागि नेत्रबिक्रम चन्द (विप्लव) समूहले टिम परिचालन गरेको बताएका छन् ।
बिहीवार राजधानीको पेरिशडाँडास्थित नेकपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले हिजो सँगै जनयुद्ध लडेका साथी (विप्लव)ले आफ्नो ज्यान मार्ने निर्णय गरी टिम परिचालन गरेको सूचना पाएको बताए ।
‘मलाई आज (बिहीबार) विहान सरकारका तर्फबाट जानकारी आयो, मलाई (प्रचण्ड)लाई नै एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरुले माइन्यूट (निर्णय) गर्नुभएको छ रे, र टिम पनि खटाउनु भएको छ रे,’ प्रचण्डले भने, ‘मलाई मारेर यो संघीय लोकतान्त्रिक गणतन्त्र, यो परिवर्तन बच्ने हो त ?’
सरकारले गरेको निर्णय (विप्लवमाथि प्रतिबन्ध लगाउने) विषयको प्रसंग उठाउँदै प्रचण्डले हिजो सँगै लडेका साथीहरुको माया र दया लागेको पनि बताए ।
अध्यक्ष प्रचण्डले अहिलेको परिस्थिति जनयुद्ध थाल्दा (२०५२) सालको जस्तो नभएको उल्लेख गर्दै निधार खुम्च्याएर सोच्न विप्लवलाई सुझाव दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५ बिहिबार ००:००  ११ : ३० बजे