१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विश्व मिर्गौला दिवस, चिकित्सक भन्छन्, बेला–बेलामा मिर्गौला जाँच गराउनुपर्छ



काठमाण्डौ ।
विश्व मिर्गौला दिवस बिहीबार विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘मिर्गौला स्वास्थ्य सबैका लागि सबै तिर’ भन्ने नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ ।
विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार औषतमा १० प्रतिशत नागरिकलाई मिगौलाको समस्या देखिएको छ । त्यसलाई आधार मान्दा नेपालमा ३० लाख जनालाई मिर्गाैलाको समस्या रहेको मिर्गौला विषेशज्ञ डाक्टर ऋषिकुमार काफ्लेले बताउनुभयो ।
नेपालका विभिन्न अस्पतालमा अहिले पनि ४५ सय भन्दा धेरै ब्यक्ति डायलासिस गरिरहेका र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको संख्या १३ सय नाघेको पनि डाक्टर काफ्लेले बताउनुभयो । मिर्गौलाले पिसाब बनाउनुका साथै रगत शुद्धीकरण गर्ने, शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग र्पुयाउँछ । तर मृगौलामा खराबी आउँदा यी काम बन्द हुने उहाँले बताउनुभयो ।
यस्तै, तीन लाख मानिसलाई मिर्गौला बिग्रेको थाहा नै नहुने मिर्गौला रोग विषेशज्ञले बताएका छन् । आनीबानी र खानपानका साथै जीवनशैली स्वस्थकर नहुँदा मिर्गौला बिग्रनेको संख्या बढेको उनीहरुको भनाइ छ । खुट्टा सुन्निने, बिहान उठ्दा आँखाको डिल सुन्निने, पिसाब धमिलो आउने र राती सुतिसकेपछि पनि पटक–पटक पिसाब आएमा मिर्गौलाको लक्षण हुन सक्ने भएकाले सावधान रहन पनि डाक्टरले सचेत गराएका छन् ।
मिर्गौला रोग लाग्नै नदिन स्वस्थ खाना खाने, नियमित व्यायाम गर्ने, फलफूल एवम् आवश्यक मात्रामा पानी पिउन पर्ने र बेलाबेला जाँच गर्नुपर्ने पनि उनीहरुको भनाई छ । समय समयमा जाँच गराएर मिर्गोलासम्बन्धी समस्याबाट जोगिन सकिने मिर्गौला रोग विशेषज्ञ डाक्टर पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आज विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
दिवसको अवसरमा आज काठमाण्डौलगायतका देशका विभिन्न ठाउँमा कार्यक्रम हुँदैछ । भक्तपुरको सूर्य्विनायकमा बिहीबार विश्व मिर्गौला दिवस तथा दशौँ नेपाल प्रत्यारोपण खेलकुद कार्यक्रमको आयोजना गरिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५ बिहिबार ००:००  ७ : ४४ बजे