५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

यशोधरामा गम्भिर त्रुटि, अंग्रेजी विषयको दिन सामाजिक विषयको परिक्षा !



मायादेवी अनलाइन, तौलिहवा ।

कक्षा ५ को बार्षिक परिक्षामा कपिलवस्तुको एक सामुदायिक विद्यालयले गम्भिर त्रुटि गरेको पाइएको छ । जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ३ बसन्तपुरमा अवस्थित कृष्ण धार्मिक मावि बसन्तपुरले परिक्षामा गम्भिर त्रुटि गरेको हो । विद्यालयले कक्षा ५ को अंग्रेजी विषयको परिक्षाको दिन सामाजिक विषयको पेपर दिएर परिक्षा लिएको छ । फाल्गुण २९ गते अंग्रेजी विषयको परिक्षा दिने समय थियो तर यस विद्यालयले सामाजिक विषयको परिक्षा लिएको छ । जब कि सामाजिक विषयको परिक्षा चैत्र १ गते गर्ने कार्यतालिका थियो ।

विद्यालयका प्रधानाध्यापक राम जियावन यादवले कक्षा ५ को परिक्षामा त्रुटि भएको स्विकार गर्नुभएको छ । मायादेवी अनलाइन संग कुराकानी गर्दै प्रधानाध्यापक यादवले स्रोत केन्द्रबाट पेपर आएको भएपनि अंग्रेजी जस्तो मानेर विद्यार्थीलाई दिदा सामाजिक विषयको पर्न गएको बताउनुभयो । छापाखानाले नै पेपर बेरेर पठाएको र त्यसमा सामाजिक नलेखिदिदा यस्तो गल्ति हुन गएको उहाँले बताउनुभयो ।

मानवबाट नै गल्ति हुँदो रहेछ प्रधानाध्यापक यादवले भन्नुभयो, “परिक्षा लिए पनि बाहिर आउट गरेका छैनौं, विद्यार्थीबाट परिक्षा लिएपछि परिक्षा कापी र पेपर माग्यौं आउट हुन पाएन ।” अरु विद्यालयका विद्यार्थी बीचमा प्रश्नपत्र आउट नभएको उहाँले दाबी गर्नुभयो ।

परिक्षा जस्तो अति संवेदशनशील विषयमा प्रधानाध्यापकको प्रतिक्रिया यस्तो आउँनुले शिक्षक गैरजिम्मेवार बनेको प्रष्ट भएको छ । कृष्ण धार्मिक माविमा २९ गते सामाजिक विषयको परिक्षा दिए पनि अरु विद्यालयले २९ गते नै अंग्रेजी विषयको परिक्षा लिएका छन् ।

यशोधरा गाउँपालिकाले सबै विद्यालयलाई एउटै प्रश्नपत्र कोटेको छ । कृष्ण धार्मिक माविले परिक्षा कापी र पेपर सबै विद्यार्थीबाट माग्यौ, आउट भएन भनिरहदा मायादेवी अनलाइनलाई पेपर प्राप्त भएको छ  । यतिमात्र होइन शुक्रबार कृष्ण धार्मिक माविका कक्षा ५ का विद्यार्थीले अंग्रेजी विषयको परिक्षा दिदै छन् । जबकी अन्य विद्यालयले २९ गते नै परिक्षा दिइसकेका छन् । शुक्रबार यी विद्यालयले सामाजिक विषयको परिक्षा लिदै छन् ।

अरु विद्यालयले अंग्रेजी विषयको परिक्षा लिईसकेपनि कृष्ण धार्मिककै लागि भनेर पेपर मागेनन् । किनकि यो घटना गुपचुपमै थियो । अब शुक्रबार अंग्रेजी विषयको परिक्षा दिनका लागि कृष्ण धार्मिक मावि कक्षा ५ का विद्यार्थी तयारी अवस्था छन् । जबकी अरु विद्यालयले परिक्षा दिइसकेर पेपर गाउँ गाउँ पु¥याएका छन् ।

परिक्षा जस्तो संवेदनशील विषयमा यति ठूलो गम्भिर गल्ति हुँदापनि विद्यालयले घटनालाई गुपचुप राख्ने प्रयास गरेको पाइएको छ । यशोधरा गाउँपालिकाका स्रोत व्यक्ति खेमराज पौडेलले यो विषयमा आफुलाई केही थाहा नभएको बताउनुभयो । मायादेवी अनलाइन संग कुराकानी गर्दै पौडेलले विहान अलि अलि अपुष्ट खबर पाएपनि अहिले बल्ल यो बिषयमा थाहा भएको उहाँले जनाउनुभयो ।

सरकारले स्रोत व्यक्तिलाई हटाएर पुरानैं शिक्षक भएको विद्यालयमा पढाउन भनिसके पछि आफु यशोधरा गाउँपालिकामा नगएको उहाँले प्रष्ट पार्नुभयो । “यशोधरा गाउँपालिकामा अहिले म जादिन उहाँले भन्नुभयो, परिक्षाको तयारी गरेर सबै प्रश्नपत्र विद्यालयलाई बुझाएर आफ्नो कार्यक्षेत्र आएको हुँ ।” स्रोत व्यक्ति पौडेलले यो विषय गम्भिर रहेकोले सत्य तथ्य बुझ्ने बताउनुभयो ।
अहिले जिल्लाभर सामुदायिक विद्यालयको बार्षिक परिक्षा चलिरहेको छ भने जिल्ला स्तरको ८ कक्षाको पनि परिक्षा भैरहेको छ । जिल्लाका १० ओटै स्थानीयतहमा एउटै समयमा परिक्षा सञ्चालन भएपनि प्रश्नपत्र आ-आफ्ना स्थानीय तहले काटेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५ बिहिबार ००:००  ७ : २१ बजे