५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विप्लवको बन्दले देशैभर त्रास, विवाहको गाडी पनि छोडेनन्, केही घाइते !



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव देशका अधिकांश स्थानमा छदै छ विभिन्न स्थानहरुमा देखिएका शंकास्पद बस्तुले जनतामा त्रास सिर्जना गरेको छ । यस्तै बन्दकर्ता विवाहको गाडीमा समेत आगजनी गरेका छन् रोकि राखेका केही सवारी जलाएका छन् । विप्लव बन्दको क्रममा रोल्पा, रुपन्देही, गोरखा, प्युठान, हेटौडा, महोत्तरी, पोखरा, नवलपरासी लगायतका स्थानमा शंकास्पद बस्तु भेटिएको बताइएको छ ।
रुपन्देहीको कालिका चोकमा विहानै वमजस्तै देखिने शंकास्पद वस्तु भेटिएपछि जनजीवन प्रभावित भएको छ । सिद्धार्थ राजमार्गको बुटवल बेलहियाखण्डको कालिका चोकमा ट्राफिक बे्रेकरमाथि वमजस्तो वस्तु भेटिएको थियो । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।
प्रदेश २ को महोत्तरीको कञ्चनवनमा लागेको मिथिला माध्यमिकी परिक्रमा मेलामा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मेलामा बेलुन बेच्दै आएका औरही नगरपालिका २ का ४० वर्षीय रामकरण कापर र छेउमा बसेका गौशाला नगरपालिका १० का ६० वर्षीय अमरुद्दिन लहेडी रहेका छन् । घाइते दुवैजनाको उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय सितापुर भंगहाले जनाएको छ ।
दाङमा संकास्पद बस्तु फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ विपिचोक नजिकै एक कपडा पसल बाहिर राखेको शंकास्पद बस्तु फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय प्रमुख प्रेम शाहीको टोली संकास्पद बस्तु भएको स्थानमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले बोत्तललाई कागजले बेरिएको अवस्थामा संकास्पद बस्तु रहेको बताए । ‘बोत्तल फेला परेको हो’ उनले भने, ‘अरु त्यस्तो केही छैन ।’ राजमार्गमा रोकिएका सवारी साधनलाई प्रहरीले स्कटिङ्ग गरेर गन्तव्यमा लैजाने काम गरेको छ ।
उता प्युठानको स्वर्गद्वारी नगरपालिका अगाडिको बाटोमा शंकास्पद बस्तु फेला परेको छ । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव परेको छ ।
बिहीबार पोखराका विभिन्न स्थानमा शङ्कास्पद बस्तु फेला परेका छन् । सभागृह चोकस्थित ट्राफिक प्रहरी बस्ने डोम नजिकै राखिएको वस्तु सेनाको टोलिले डिस्पोज गरेको छ ।
डिस्पोज गरिएको बस्तु सुतली बम रहेको हुनसक्ने प्रहरीले जनाएको छ । बिहान ४ः३० बजेतिर केही युवा पृथ्वीचोकमा देखिएका र पछि सभागृहतिर लागेकाले उनीहरुले नै राखेको हुन सक्ने प्रहरीको आशङ्का छ ।
यस्तै पोखरा २९ भण्डारढिक छेत्रमा समेत शङ्कास्पद बस्तु फेला परेको सकेट बम सेनाको टोलीले डिस्पोज गरेको छ । एसबीआई बैंकको नजिकै सकेट बम फेला परेको र बिना कुनै क्षति सेनाको टोलीले डिस्पोज गरिसकेको इलाका प्रहरी कार्यालय सिसुवाका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए । बन्दका कारण पोखरामा सवारी चल्न सकेका छैनन् ।
उत्तरी मकवानपुरको त्रिभुवनराजपथ अन्तर्गत थाहा नगरपालिका –४ नयाँगाउँमा नचिनेको समूहले ट्रकमा आगजनी गरेका छन् । काठमाण्डौबाट हेटौँडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्रकम रहेको चालकसहित ३ जनालाई ट्रकबाट आरालेर उनीहरुले आगो लगाएका हुन् । ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । ट्रकको अगाडिको भाग पूरै जलेको छ ।
गोरखा जिल्लामा २ ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । गोरखा सदरमुकामबाट गोरखा क्याम्पस जाने बाटोमा पर्ने भीआईपी टोल र गोरखा सदरमुकामको १२ किलो बजार नजिकै आँबुखैरेनी बजार नजिकै बिहीबार बिहान २ वटा बम भेटिएको प्रहरीले जनाएको छ ।
धनगढीमा विवाहको गाडी पनि कार्यकर्ताले छोडेनन् । बुधबार बेलुकी भजनीबाट आईरहेको विवाहको गाडीमा मसुरिया र राजीपुरकोबीच जंगलमा आगो लगाई दिएको छ । म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । आज बिहान पहाडि जिल्लाबाट धनगढीतिर आईरहेका सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुमा पनि विहानैदेखि परेको छ । बन्दको कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना बन्द छन् । बन्दकर्ताहरु सडकमा नदेखिए पनि जिल्लामा बन्दको प्रभाव परेको हो ।
जिल्लाको उत्तरी क्षेत्र चन्द्रौटा, इमिलिया, गोरुसिंगे, चारनम्बर, बोडगाउँ लगायतका बजारमा बन्दको प्रभाव परेपनि दक्षिणी क्षेत्र सदरमुकाम तौलिहवा, महाराजगञ्ज, बहादुरगञ्ज, कृष्णनगर लगायतका क्षेत्रमा बन्दको प्रभाव कम परेको छ ।
बन्दको सुदूरपश्चिममा आंशिक प्रभाव परेको छ । सुदूरपश्चिमको राजधानी धनगढी बजारमा मोटरसाईकल, ईरिक्सा र चार पांग्रे सवारी साधन चलिरहेका छन् भने अधिकांस बजार बन्द रहेको छ ।
यता विहीबारको बन्दले विद्यार्थीको पढाईमा असर गरेको छ । जिल्लामा कक्षा ८ को जिल्लास्तरीय परिक्षा सञ्चालन भैरहेको छ भने सामुदायिक विद्यालयमा बार्षिक परिक्षा भैरहेको छ । बन्दले गर्दा आज परिक्षा हुने हो कि होइन् अन्यौलता बढेको वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले बताए । बन्दले गर्दा आज हुने परिक्षा ६ गते सारिएको जिसीले जनाए । यता जिल्लाका नीजि विद्यालयहरु बन्द हुनेभएका छन् ।
गत फाल्गुण २३ गते नेकपाको राम्रै पकड मानिएको शिवगढीमा प्रहरीले सर्च अप्रेशन गरेको थियो । सर्च अप्रशेनबाट प्रहरीले विभिन्न हातहतियार बरामद गरेको थियो भने सर्च अप्रशेन बेला भाग्न खोज्दा प्रहरीको गोली लागेर एक जना नेकपाका जिल्ला नेता घाइते भएका थिए ।
यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बन्दको बेला हुन सक्ने आपराधिक गतिविधि रोक्न व्यापक प्रहरी परिचालन गरिएको जनाएको छ । विहान ९ बजे सम्म जिल्लामा कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग्स्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती दुई ट्रकमा आगजनी गरिएको छ । ८÷१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट ट्रकका टायर पछाडिको भागमा क्षति पुगेको छ । बन्दको पूर्वसन्ध्यामा गरेको आगजनी विप्लव समूहले गरेको आशंका प्रहरीको छ ।
यता पूर्वी नवलपरासीको राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएको छ । शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाईएको थियो । बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र ब्याट्री रहेको सुरक्षा निकायले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५ बिहिबार ००:००  ४ : ०१ बजे