५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बन्दले गर्दा कपिलवस्तुमा आज हुने परिक्षा स्थगित



मायादेवी अनलाइन, कपिलवस्तु । 

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा विहानैदेखि परेको छ । बन्दको कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना बन्द छन् । बन्दकर्ताहरु सडकमा नदेखिए पनि जिल्लामा बन्दको प्रभाव परेको हो ।

जिल्लाको उत्तरी क्षेत्र चन्द्रौटा, इमिलिया, गोरुसिंगे, चारनम्बर, बोडगाउँ लगायतका बजारमा बन्दको प्रभाव परेपनि दक्षिणी क्षेत्र सदरमुकाम तौलिहवा, महाराजगञ्ज, बहादुरगञ्ज, कृष्णनगर लगायतका क्षेत्रमा बन्दको प्रभाव कम परेकोछ  ।

यता विहीबारको बन्दले विद्यार्थीको पढाईमा असर गरेको छ । जिल्लामा कक्षा ८ को जिल्लास्तरीय परिक्षा सञ्चालन भैरहेको छ भने सामुदायिक विद्यालयमा बार्षिक परिक्षा भैरहेको छ । बन्दले गर्दा आज परिक्षा हुने हो कि होइन् अन्यौलता बढेको वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले बताए । बन्दले गर्दा आज हुने परिक्षा ६ गते सारिएको जिसीले जनाए । यता जिल्लाका नीजि विद्यालयहरु बन्द हुनेभएका छन् ।

गत फाल्गुण २३ गते नेकपाको राम्रै पकड मानिएको शिवगढीमा प्रहरीले सर्च अप्रेशन गरेको थियो । सर्च अप्रशेनबाट प्रहरीले विभिन्न हातहतियार बरामद गरेको थियो भने सर्च अप्रशेन बेला भाग्न खोज्दा प्रहरीको गोली लागेर एक जना नेकपाका जिल्ला नेता घाइते भएका थिए ।

यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बन्दको बेला हुन सक्ने आपराधिक गतिविधि रोक्न व्यापक प्रहरी परिचालन गरिएको जनाएको छ । विहान ९ बजे सम्म जिल्लामा कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५ बिहिबार ००:००  ३ : ३१ बजे