५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विप्लवको बन्दः बन्दकर्ता सडकमा छैनन् तर बन्द छ !



मायादेवी अनलाइन, वाणगंगा ।
नेत्र विक्रम चन्द विप्लव समुहले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तु सहित प्रदेश ५ मा विहानैदेखि परेको छ । बुधबार नै विज्ञप्ती जारी गरी विप्लवले नेपाल बन्दको आह्वान गरेको थियो । आफूहरुलाई केपी ओली सरकारले अपराधि घोषणा गरेर प्रतिवन्ध गरेपछि रुष्ट बनेको विप्लव समुहले त्यसको कडा प्रतिवाद गर्दै नेपाल बन्द आह्वान गरेको हो ।
बन्दको कारण कपिलवस्तुबाट छ्ट्ने लामो तथा छोटो दुरीका सवारी साधन विहानैदेखि चल्न सकेका छैनन् भने बजार, उद्योगधन्दा कलकारखाना पनि चल्न सकेका छैनन् । त्यसैगरी विहानैदेखि सुचारु हुने विद्यालय तथा कलेजहरु प्नि बन्द छन् । बन्दकर्ताहरु बन्द गर्न भन्दै सडकमा नदेखिए पनि बजार भने पुरै सुनसान देखिएको छ ।
प्रहरीले जिल्लाका ठाउँठाउँमा सुरक्षा प्रदान गरेर बन्द अवज्ञा गर्न आग्रह गरे पनि सर्वसाधारणले भने त्रासैत्रासमा आफ्ना व्यावसाय बन्द गरेपछि बन्दको प्रभाव परेको हो । जिल्लाको कृष्ण नगर, बहादुरगंज, चन्द्रौटा, शिवगढी शिवपुर, गोरुसिंगे, बनगाई, बोडगाउँ, चारनम्बर, पिपरा, गजेहडा, ओदारी र सदरमुकाम तौलिहवा लगायतका चहलपहल हुने स्थान बन्दका कारण सुनसान देखिएका छन् ।
यस्तै विप्लवको समुह रहेका स्थानहरु रुपन्देही, नवलपरासी, दाङ लगायतका जिल्लमा पनि बन्दको प्रभाव परेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । यस्तै बन्दको प्रभाव पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान गरी लगभग प्रदेश ५ मै देखिएको छ । चन्दा आतंक र बिभिन्न ठाउँमा भएका विष्फोटका घटना घटाएका कारण विप्लवसंग सबै सर्वसाधारण र उद्योगी व्यवसायी त्रसित छन् ।
यस्तै विहीबार देशका बिभिन्न भागमा शंकाष्पद वस्तु फेला परेको पनि प्रहरीले जनाएको छ । सरकारले बन्द अवज्ञा गर्न भने पनि सवारी साधनहरुम तोडफोड र आगजनी हुने डरले सवारी धनीले आज गाडी घरमै थन्काएर राखेका छन् भने लामो दुरीमा चलेका कतिपय गाडी विचमै अलपत्र पर्दा यात्रुहरु गन्तव्यमा पुग्न सकेका छैनन् ।
सरकारले आफूहरुसंग ठाडै मुठभेड चाहेको भन्दै यसले मुलुकमा गृह युद्ध समेत निम्तन सक्ने भन्दै सचेत रहने विप्लव नेताहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । अझ केपी शर्मा ओलीले विप्लवलाई सार्वजनिक स्थानमै लुटेरा समुह भनेपछि थप उनीहरु आक्रोशित भएका छन् ।

राजधानीमा पनि बन्दको प्रभाव

बन्दको प्रभाव राजधानीमा पनि देखिएको छ । विप्लव माओवादीले नेपाल बन्दको घोषणा गरेको भन्दै अधिकांश निजी विद्यालयहरुले विहीबार विद्यार्थीहरुलाई छुट्टी दिएका छन् । राजधानीबाट बाहिरी जिल्लामा चल्ने अधिकांश रात्रिकालीन बसले आजको लागि टिकट काट्न मानेका छैनन् ।
प्रतिबिन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले आजनेपाल बन्दको घोषणा गरिरहँदा नेपाल प्रहरीले भने स्कर्टिङ गरेर भए पनि गाडी चल्न दिइने र बन्दलाई असफल पार्ने बताएपनि त्यो निष्प्रभावी देखिएको छ । बन्दको प्रतिवादका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको दाबी गर्दै आवश्यकता अनुसार स्कर्टिङ गरेर भए पनि सार्वजनिक सवारी साधन चल्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएपनि प्राय चहलपहल कम देखिन्छ ।
उपत्यका बाहिरका जिल्लाको हकमा पनि माग बमोजिम सम्बन्धित जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर स्कर्टिङको व्यवस्था प्रहरीले मिलाएको छ । समूहले बन्दको घोषणा गरेसँगै हरेक जिल्लामा सुरक्षा समन्वय समितिले सम्भावित चुनौतिको विश्लेषण गरेर सुरक्षा योजना बनाउने गर्छ । सोही योजनाअनुरुप नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समन्वयात्मक रुपमा परिचालन हुने जनाइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५ बिहिबार ००:००  २ : ३७ बजे