५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

साविक बिठुवा गाविस खुल्ला दिसा मुक्त क्षेत्र घोषणा



मणि प्रसाद गैह्रे, कपिलवस्तु ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ४ साविकको विठुवा गाविसलाई एक समारोहका साथ खुल्ला दिसा मुक्त वडा घोषणा गरिएको छ । वडा नं ४ का वडा अध्यक्ष नरेश अहिरले वडामा रहेका ५ सय ९५ घरधुरी मध्ये सबै घरधुरीमा शौचालय निर्माण भएको भन्दै वडालाई खुल्ला दिसा मुक्त वडा घोषण गरे ।
दिसा मुक्त घोषणा संगै वडालाई वालमैत्री वडा, पूर्ण सरसफाई र विकासमा अब्बल वडा बनाउने कार्यपत्र समेत अध्यक्ष अहिरले प्रस्तुत गरेका थिए । कार्यक्रममा वोल्दै संघीय सांसद अतहर कमालले गाउँपालिका तथा वडाहरुमा भौतिक विकासले तिव्रता लिएकाले अव भौतिक विकासका साथै सामाजिक विकास र आर्थिक सवृद्धि तर्फ लाग्नु पर्ने बताए ।
साथै कमालले दक्षिणी क्षेत्र शिक्षामा पछि परेकाले शिक्षामा लगानी तथा गुणस्तरिय शिक्षा र सचेतनामूलक कामहरु गर्नु पर्ने बेला आएको बताए । सचेतना मार्फत स्रोत साधन परिचालन भई स्वतह स्थानीय स्तरमा आर्थिक विकासको कार्य हुने समेत उनले बताए ।
सो अवसरमा शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले गाउँपालिकाले भौतिक विकासका साथै स्वास्थ्य, शिक्षा खानेपानी जस्ता क्षेत्रमा लगानी गरेको कारण गाउँपालिकाको विकासमा तीव्रता आएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद पोख्रेलले गाउँपालिकालाई विकास गर्नको लागि कर्मचारी र जनप्रतिनिधिहरु मिलेर सहज रुपमा काम गर्नु पर्ने बताए । त्यसको लागि हालसम्म गाउँपालिका विकास र अन्य काममा राम्रो नतिजा आउँन सफल भएको बताए ।
कार्यक्रममा खुल्ला दिसा मुक्त वडा घोषण गरेवापत वडालाई पूर्ण सरसफाई तर्फ लैजानको लागि पश्चिम नेपाल ग्रामीण खानेपानी आयोजनाका जिल्ला सल्लाहकारले दुई लाखको चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा गाउँपालिकाकी उपाध्यक्ष सुधादेवी पाण्डेय, स्थानीय समाजसेवी तौलन जयसवाल, जिल्ला वास सल्लाहकार विपीन पौडेल, राष्ट्रिय मा.वि.का प्र.अ लालचन्द्र पाण्डेय लगायतले शुभकामना व्यक्त गरेका थिए ।
गाउँपालिकाका नासु इश्वरी प्रसाद न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा खुल्ला दिसा मुक्त गर्न सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई प्रमाणपत्र तथा सम्मान गरिएको थियो । साथै वडा न.ं ४ ले निर्माण गरेको नव निर्मित वडा कार्यालय समेत संघीय सांसद कमालले रिवन काटेर तथा शिलालेख अनावरण गरी उद्घाटन गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  १ : ४९ बजे