५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सभापति देउवा भन्छन्ः विप्लवलाई प्रतिबन्ध मात्रै हैन कारबाही पनि गर्नुपर्छ



विराटनगर ।
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा विप्लवलाई सरकारले प्रतिबन्ध लगाएर मात्र नहुने कारबाही पनि गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै देउवाले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णय उपर्युक्त भएको बताएका छन् ।
प्रतिबन्ध मात्रै नभएर जथाभावी आक्रमण गर्ने र अशान्ति मच्चाउने कार्य रोक्न कडा कारबाही गर्नुपर्ने देउवाको माग छ । ‘विप्लवले मान्छे मार्ने आतंक फैलाउने काम गरेको छ, हाम्रै मान्छे माथि पनि हत्या गर्नेगरी आक्रमण भयो,’ देउवाले भने, ‘प्रतिबन्ध मात्रै होइन कारवाही गर्नुर्पयो, अति गरेको छ विप्लवले मान्छे मार्ने बम पड्काउने गर्नेलाई कारबाही गर्नुपर्छ, प्रतिबन्ध लगाउने काम सही छ ।’ देउवाले सरकार र सिके राउतबीच भएको सहमति आफूहरुलाई अमान्य भएको बताए। जनअभिमतमार्फत जनताको माग सम्बोधन गर्ने भन्ने विषयलाई राउत पक्षधरले जनमतसंग्रह भएको बताइरहेको कारण त्यो आफूहरुलाई कुनै हालतमा मान्य नहुने बताए। देश टुक्र्याउने र विखण्डनकारीलाई कानुन अनुसार कारवाही गर्नुपर्ने भनाइ थियो। ‘कुनैपनि हालतमा जनमतसंग्रह मान्य हुँदैन,’ देउवाले भने ।
यस्तै देउवाले रेशम चौधरीलाई आदलतले जेल पठाउने आदेश उपर्युक्त भएको बताए। ‘प्रहरीलाई मार्ने, बच्चालाई मार्नेलाई जेल सजाय त हुनैपर्थ्यो नि हत्या त हत्या नै हो नि,’ देउवाले भने। यस्तै वाइडबडी विमान खरिद प्रकरणमा भएको घोटला प्रकरणको निष्पक्ष छानविन गर्नुपर्नेमा देउवाको जोड थियो। अख्तियारले छानविन सुरु गरेर दोषीलाई कारबाही गर्नुपर्ने देउवाको माग छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  ६ : ४९ बजे