४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विप्लवको गतिविधिमा निगरानी बढाउने प्रहरीको तयारी



काठमाण्डौ ।
सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेपछि प्रहरीले विशेष निगरानी र कारबाही अघि बढाउने तयारी गरेको छ ।
सरकारको निर्णय आएपछि त्यसैअनुसार अघि बढ्ने प्रहरीको भनाई छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले संविधान विपरीतका कार्य हुन नदिन प्रहरी सधैँ लागिरहेको भन्दै सरकारको निर्णय प्राप्त भएपछि त्यसैअनुसार निगरानी गर्ने बताउनुभयो ।
हिंसात्मक र आपराधिक गतिबिधि गर्ने छुट कसैलाई नभएको भन्दै उहाँले त्यस्ता गतिबिधि गर्ने जोकोहीलाई प्रहरीले कारबाही गर्ने बताउनुभयो । सरकारले मंगलबार मात्रै विप्लव नेतृत्वको नेकपाका गतिबिधिलाई आपराधिक ठहर गर्दै त्यसलाई नियन्त्रण गर्ने निर्णय गरेको हो । वार्तामा आउन पटकपटक आग्रह गर्दा पनि वास्ता नगरी हिंसात्मक गतिबिधि बढाएकाले त्यस्ता गतिबिधि नियन्त्रण गर्ने निष्कर्षमा पुगेको सरकारको भनाई छ ।
विप्लव नेतृत्वको नेकपाले पछिल्लो समय विष्फोट, आगजनी र चन्दा असुली तीव्र बनाएपछि सरकारले यो समूहलाई आपराधिक समूहको रुपमा लिएको हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  ३ : ४४ बजे