४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मन्त्रीमण्डल हेरफेर हुन सक्छः नेकपा अध्यक्ष प्रचण्ड



काठमाडौं ।
सत्ताधारी प्रमुख राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल ’प्रचण्ड’ले वर्तमान मन्त्रीमण्डल हेरफेर हुन सक्ने बताएका छन्।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सरकारका मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुन सक्ने बताएका हुन्। तर यसमा प्रधानमन्त्रीकै मुख्य भुमिका हुने उनले बताए।
मंगलबार बिहानमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि मन्त्रीमण्डल हेरफेरका विषयमा कुराकानी भएको उनले बताएका थिए।
’साँचो कुरा के हो भने आज बिहान मात्रै प्रधानमन्त्रीसँग छलफल भएको हो,’ अध्यक्ष प्रचण्डले भने, ’हाम्रो सिस्टममा प्रधानमन्त्रीकै अधिकार क्षेत्रभित्रको कुरा हो। आवश्यक परेका खण्डमा दुबै जना अध्यक्षबीच छलफल भएर हेरफेर हुन पनि सक्छ। मूल्यांकन गरेर हेरफेर गर्ने अधिकार प्रमलाई छ।’
पृथकतावादी आन्दोलनमा लागेकालाई सरकारले एकताको पक्षमा ल्याउनु सकारात्मक भएको उनको भनाइ थियो। ’सरकारले राउतसँग गरेको सम्झौतामा मेरो सहमति छ,’ उनले भने।
मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका समिम अन्सारीलाई अदालतले गरेको निर्णय सरकारले मान्नुपर्ने उनको भनाइ थियो। तर अन्सारीले पार्टीबाट राजीनामा दिइसकेको उनले उल्लेख गरे।

प्रकाशित मिति : २८ फाल्गुन २०७५ मंगलबार ००:००  ८ : ५२ बजे