४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

इथियोपिया विमान दुर्घटनाः एक नेपालीको पनि मृत्यु, को होला ?



काठमाडौं ।
आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० भन्दा बढी देशका १५७ जनाको ज्यान गएको छ ।
पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको ज्यान गएको इथियोपियाली अधिकारीले बताएका छन् ।
त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना रहेका थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ ।
विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना रहेका छन् भने बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको मृत्यु भएको छ ।
इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको छ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

मृत्यु हुने नेपाली गोरखाकी अधिकारी

केन्यामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ । आइतबार भएको इथियोपियन एअरलाइन्स दुर्घटनामा गोरखाकी एकता अधिकारीको मृत्यु भएको हो ।
इजिप्टका लागि नेपाली राजदूत छविन्द्र अर्यालले दुर्घटनामा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), इथियोपियामा कार्यरत नेपाली नागरिक एकता अधिकारी परेको जानकारी राति अबेर परराष्ट्र मन्त्रालयमा जानकारी गराएको पराराष्ट्रका एक अधिकारीले जानकारी दिए ।
यसबारे विस्तृत बुझ्ने काम भइरहेको ती अधिकारीले बताए। एब्लुएफपी इथियोपियाका कन्ट्री डाइरेक्टर स्टेभेन वेर ओमामोले अर्याललाई आफ्ना कर्मचारी एकता अधिकारी दुर्घटनामा परेको र त्यसबारे उनका परिवारका सदस्यलाई पनि जानकारी गराइसकेको बताएको ती अधिकारीले उल्लेख गरे ।
विमान दुर्घटनाबारे ट्विट गर्दै इथियोपियन एअरलाइन्सले दुर्घटनामा ३२ देशका नागरिकले ज्यान गुमाएका उल्लेख गर्दै त्यसमा एक नेपाली नागरिक पनि परेको जनाएको थियो । अन्नपूर्ण पोस्ट्बाट

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  ३ : २४ बजे