४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

अन्ततः राजपाले लियो सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौं,
राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिँदै सरकारकै गतिविधिका कारण मुलुकमा द्वन्द्वको खतरा बढेको आरोप लगाएको छ । राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष महेन्द्रराय यादवले आजको संसद बैठकलाई सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी दिँदै सरकारले नै द्वन्द्व निम्त्याएको बताउनुभएको हो । प्रधानमन्त्रीले आफ्नो पार्टीप्रति संकेत गर्दै दिएका अभिव्यक्तिले सरकार आफैं द्वन्द्व निम्त्याउन उद्यत् रहेको पुष्टि गरेको यादवले आरोप लगाउनुयो।
सरकारले यसअघि आफूसँग गरेका सहमति कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उहाले जानकारी गराउनुभयो । ‘सरकारले हामीसँग संवाद नै गर्न चाहेन । त्यसपछि हामी बाध्य भएर सरकारलाई दिएको समर्थन फिर्ता गर्न बाध्य भयौं,’ यादवले भने, ‘संघीयताको मर्मअनुसार प्रदेशलाई सरकारले अधिकार दिएन । शान्तिसुरक्षा कायम भएन, जताततै स्थिति लथालिंग भएको छ ।’राजपाले सुशासन, शान्ति सुरक्षामा पूर्ण असफल भएको र संविधान संशोधनप्रति उदासीन देखिएको आरोप पनि लगाएको छ । यादवले भने, ‘हामीलाई सरकारले हाम्रा कार्यकर्तामाथि लगाइएका झुटा मुद्दा फिर्ता, जेलमा रहेका कार्यकर्ताको रिहा र संविधान संशोधन गर्छु भनेको थियो तर ती कुनै कार्य पनि नगरेकाले सरकारलाई दिएको समर्थ फिर्ता लिएका हौँ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७५ आइतबार ००:००  १० : १६ बजे