४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सोलार लिफ्ट खानेपानीले स्थानीयमा खुसीयाली, पूर्व उपप्रधानमन्त्रिद्वारा उद्घाटन



गणेश बेल्बासे संगम, अर्घाखाँची ।
सोलार लिफ्ट प्रविधिद्वारा खानेपानी आयोजना सञ्चालनमा आएपछि शितगंगा नगरपालिका वडा नं.९ जौवारी, छहरे र लौरीका बासिन्दामा खुसीयाली छाएको छ । सौर्य उर्जाको प्रयोग गरेर फेदीको मुहानको पानी डाडामाथिको बस्तीमा र्पुयाएर घर घरको धारामा वितरण भएपछि ति बस्तीमा खुसीयाली छाएको हो । जौवारी, छहरे लौरी सोलार लिफ्ट खानेपानी तथा सरसफाई योजनाको शनिबार भएको उद्घाटनका अवसरमा स्थानीयबासीले खुसीयाली मनाएका थिए ।
सोलार लिफ्ट खानेपानीको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले सबै नेपाली जनतालाई खानेपानीको सुविधा र पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेकोे बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, खानेपानीको समस्या भोगिरहेका हरेक गाउँ, बस्ती र टोलटोलमा खानेपानीको व्यवस्था मिलाउने राज्यको दायित्व रहेकाले अन्य बस्तीहरुमा पनी यस्तै नयाँ योजना सञ्चालन गरी शुद्ध खानेपानी व्यवस्था गरीनेछ ।
शुद्ध खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । खानेपानी लगायत अन्य पूर्वाधार सडक, विद्युत, सिचाई, कृषि, रोजगार लगाएतका योजनाहरु समेत अघि बढाउन आफु दिनरात गम्भीर भएर लागिरहेको उनले बताए । उनले भने, देशलाई विकसित र समृद्ध गर्न सरकारले थुप्रै काम अघि बढाइरहेको छ । कामै भएन भनेर सरकार विरुद्ध गरिएको भ्रममा नपर्न सबैलाई अनुरोध गरे । विकास र समृद्धि एकै पटक हुन सम्भव नभएकाले चरणबद्ध रुपमा हुदै जाने भएकाले धैर्य गर्न आग्रह गरे ।
शितगंगा नगरपालिकाका नगर प्रमुख सूर्य प्रसाद अधिकारीले कार्यक्रमका प्रमुख अतिथी एवम् प्रतिनिधी सभाका सांसद टोपबहादुर रायमाझीलाई समग्र शितगंगाको विकासको लागि गुरुयोजना बनाउन जोड दिए । एकिकृत वस्ती निर्माण, सडक, विद्युत, खानेपानी जस्ता विकासका पूर्वाधारहरूको योजना तर्जुमाका लागि संघिय सरकारमा पहल गर्न आग्रह गरे । अन्य ससाना योजनाहरूको विकासको लागि नगरपालिकाका जनप्रतिनिधी एक ढिक्का भएर लागेको स्पष्ट पारे ।
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका उपसभापती ऋषि बहादुर पुलामी, शितगंगा नगर उपप्रमुख टिकाराम रेश्मी, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना तेस्रो चरणका वास सल्लाहकार मिन वस्नेत, वासका जिल्ला अधिकृत कुशल भुसाल, वडा नं.९ का वडा अध्यक्ष भिम बहादुर केसी, नेकपाका नगर अध्यक्ष बसन्त श्रेष्ठ, नेपाली कांग्रेसका नेता छविलाल पौडेल लगाएतले बोलेका थिय ।
फिनल्याण्ड सरकार, शितगंगा नगरपालिका र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना तेस्रो चरणको सहयोगमा जौवारी छहरे लौरी सोलार लिफ्ट खानेपानी तथा सरसफाई योजना सञ्चालनमा आएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५ आइतबार ००:००  ५ : ४३ बजे