एजेन्सी ।
साबिक विजेता बार्सिलोनाले यो सिजन पनि स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना थप बलियो बनाउँदै लगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले रायो भालेकानोमाथि ३–१ को जित दर्ता गर्दै उपाधि होड बलियो बनाएको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सी, जेरार्ड पिके र लुइस स्वारेजले गोल गरे । रायो भालेकानोका लागि डी तोमस गोमेजले एक गोल फर्काए ।
२४ औँ मिनेटमा गोमेजको गोलबाट रायो भालेकानोले अग्रता लियो । बार्सिलोनाका लागि ३८ औँ मिनेटमा पिकेले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गरेको हो । ५१ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए । मेस्सीले यो सिजन ला लिगामा २५ खेलमा अहिलेसम्म २६ गोल गरेका छन् ।
यस्तै ८२ औँ मिनेटमा स्वारेजले गोल गरेपछि बार्सिलोना ३–१ ले विजयी भयो । जितपछि शीर्षस्थानको बार्सिलोनाको २७ खेलबाट ६३ अंक भएको छ ।
लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा लेगानेसलाई १–० ले हराएको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ र उसको २७ खेलबाट ५६ अंक भएको छ, अर्थात बार्सिलोनाको भन्दा सात अंक कम छ।
अरु खेलमा गेटाफेले हुएस्कालाई २–१ ले हरायो भने एलाभेस र एइबरले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिक्रिया