४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लुम्‍बिनी चिनी उद्योग बन्द हुँदैः उखु किसान थप समस्यामा



नवलपरासी ।
चिनीमिल ढिलो संचालनमा आउँदा मर्कामा परेका पश्चिम नवलपरासीका उखु किसान थप समस्यामा परेका छन् । ढिलो गरी संचालनमा आएका चिनीमिलहरु बन्द हुन थालेपछि किसान चिन्तित भएका हुन् । पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्विनी चिनी उद्योगले सुचना प्रकासन गरेर फागुन महिनाको अन्त्यदेखि मिल बन्द हुने जनाएको छ । उद्योगले किसानको उखु खरिद गर्न नसने जनाएपछि किसानलाई उखु खेतमै सुक्ने चिन्ताले सताएको हो । उद्योगले मेसिनमा समस्या देखिएको र कामदार अभावको कारण देखाएर मिल संचालन गर्न नसकने उद्योगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

किसानले ल्याएको उखु वासी भएको, झार, माटो भएकोले प्रोसेस संचालनमा कठिनाई भएको र उत्पादनको तुलनामा लागत बढी हुँदा मिल संचालन गर्न नसकिने बताइएको हो । लुम्विनी चिनी उद्योग बन्द भएपछि त्यसको भार बागमती सुगर मिल र इन्दिरा सुगर मिलमा पर्ने देखिएको छ । गत वर्ष पनि लुम्विनी चिनी उद्योग बन्द भएपछि बागमती सुगर मिलले किसानको उखु उठाएको थियो । संचालनमा रहेका बागमती र इन्दिरा सुगर मिल पनि संचालनको समयमा पटक पट समस्या आउने गरेको छ ।

जिल्लामा करिव २० लाखदेखि २५ लाख क्विन्टलको हाराहारीमा उखु उत्पादन हुने गर्दछ । चिनी उद्योग संचालनमा ढिलाई भएपछि अहिलेसम्म करिव ५ देखि ६ लाख क्विन्टल मात्र उखु क्रसिङ भएको उखु किसान लख्खु यादवले बताए । संचालनमा रहेको बागमती र इन्दिरा सुगर मिलले पनि घाटाको कारण देखाएर उद्योग बन्द हुने अवस्था आए किसानको उखु खेतमै जलाउनुपर्ने अवस्था सिर्जना हुने यादवले दुखेसो पोखे । मिल संचालक हरुको सिन्डिकेटका कारण किसान मर्कामा पर्दा समेत राज्यले ठोस कदम चाल्न नसकेको उखु किसान पिटर गुप्ताले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५ शनिबार ००:००  १० : ५० बजे