काठमाडौं ।
पछिल्लो समयमा बालबालिका यौन दुव्र्यवहार र बलात्कारको शिकार हुने गरेका छन्। सूचना प्रविधिको विकासक्रमसँगै बालअधिकार सम्वर्दनसम्बन्धी सम्बन्धित सरोकारवालाको प्रयत्न, बहस र पैरवी हुँदाहुँदै कतिपय प्रवृत्तिगत सामाजिक गलत मूल्य, मान्यता र अन्धविश्वासका कारणले पनि बालबालिका यौन दुव्र्यवहारको शिकार हुने गरेका छन्। यसबारेमा अधिकांश घटना बाहिर आए पनि कतिपय घटना बाहिर आउन सकिरहेका छैनन्। केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आवको प्रथम चौमासिक अवधिको स्थिति विश्लेषण गर्दा ९८ बालबालिकामाथि बाल यौन दुव्र्यवहार र बलात्कार भएका घटना प्रकाशमा आएका छन्। यस अवधिमा एक बालक विदेशी नागरिकबाट यौन दुव्र्यवहारमा परेका छन् भने ९७ बालिका बलात्कृत भएका छन्। स्वीस नागरिक पिटर भन्ने व्यक्तिले फेसबुकबाट चिनजान गरी नेपाल आएर बाल यौन दुव्र्यवहार गरेका थिए। निजमाथि कानूनी कारवाही अगाडि बढाइएको छ। बालिका बलात्कार भएका घटनामध्ये १२ बालिका सामूहिक बलात्कारमा परेको समितिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिए। घटनालाई हेर्दा सामूहिक बलात्कारमा परेकी दुई बालिका सुस्तमनस्थितिका थिए। बलात्कारका घटनालाई विश्लेषण गर्दा सबैभन्दा बढी चिनजानको व्यक्तिबाट ३६ बालिका बलात्कार भएको समितिले जनाएको छ। प्रतिवेदनअनुसार छिमेकीबाट १९, आफ्नै बुबा तथा हाडनाताबाट १७, प्रधानाध्यापक तथा शिक्षकबाट छ, सरकारी कर्मचारीबाट तीन, घरेलु बालश्रममा रहेका चार र अपरिचित व्यक्तिबाट ११ बालिका बलात्कृत भएका छन्। हाडनाताबाट बलात्कार भएका १७ बालिकामध्ये नौ बालिका आफ्नै बाबुबाट बलात्कार भएका छन्। बलात्कारमा संलग्न अभियुक्तमध्ये १५ बालक नै रहेको र ६० वर्षमाथिका व्यक्तिबाट सात बालिका बलात्कृत भएको सूचना अधिकारी चन्दको भनाइ छ। बलात्कारबाट पीडित भएका बालिकाको उमेर समूहका आधारमा विश्लेषण गर्दा पाँच वर्ष वा सोभन्दामुनि नौ, छ देखि १० वर्षका १९, ११ देखि १४ वर्षका ४४ र १५ देखि १८ वर्षका २५ बालिका रहेका छन्। समितिका पूर्वकार्यकारी निर्देशक तारक धितालले बालबालिकालाई हिंसा, दुव्र्यवहार, शोषण, भेदभाव, अपहरण, उपेक्षा, हेपाइ र बेवास्ताजस्ता हानिकारक अभ्यासबाट संरक्षण गर्नु मुख्य त अभिभावकको दायित्व हुने बताए। सबैभन्दा कम उमेरको महोत्तरीमा आठ महीने बालिकालाई अपहरणपश्चात बलात्कार गरी हत्या गरिएको छ भने ११ देखि १४ वर्ष उमेरका बालिका धेरै सङ्ख्यामा बलात्कारबाट पीडित भएका छन्। उक्त घटनामध्ये सर्वाधिक चर्चामा रहेको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको घटनाका विषयमा हालसम्म पनि सत्यतथ्य बाहिर आउन सकिरहेको छैन्। तर अनुसन्धान जारी छ। सत्यतथ्य पत्ता लगाउनेबारे प्रतिपक्ष राजनीतिक दलका नेताहरुले संसदमा समेत पटक–पटक कुरा उठाउँदै आएका छन्। यस अवधिमा ४६ जिल्लामा भएका जम्मा घटनामध्ये जिल्लागत रुपमा विश्लेषण गर्दा सबैभन्दा बढी सप्तरी र पाल्पामा पाँच(पाँच बालिका बलात्कारबाट पीडित भएका छन्। बालबालिका यौन दुव्र्यवहारबाट मात्र नभई बलात्कार, बालविवाह, हत्या, बालश्रम, बेचविखन तथा ओसारपसार, अपहरण र बालबालिकामाथि हुने शारीरिक तथा मानसिक सजायबाट समेत पीडित हुनुपरेको छ। बाल यौन दुव्र्यवहारको अन्त्य गर्ने हो भने सरकार र सरोकारवाला संघसंस्थाले बालबालिकाको हकहित र अधिकारका लागि निर्माण गरिएको संविधान, ऐन(कानून र नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ। बाल दुव्र्यवहार जोकसैबाट जहाँ पनि हुनसक्ने भएकाले यस बारेमा बालबालिकादेखि अभिभावकसम्म सबै सतर्क, सचेत र सजग रहन आवश्यक छ।
रासस
२५ फाल्गुन २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया