४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मनाङमा हिमपहिरोः नेपाली गाइडको मृत्यु, विदेशी पर्यटक वेपत्ता



काठमाडौं ।
मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।
मृत्यु हुनेमा धादिङका अजय ढकाल छन् । नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् । ढकाल ट्रेकिङ गाइड हुन् । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए ।
मनाङको निस्याङ गाउँपालिका( १ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए । ढकालको शव शुक्रबार साँझ फेला पारिए पनि नेदरल्याण्डका नागरिक भिनसेन्टलाई भने फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर श्रवण कुमार विकले जानकारी दिए ।
मनाङबाट फर्किने क्रममा यही फागुन २३ गते उनीहरु पहिरोमा परेका थिए । त्यसलगत्तै खोजी कार्य सुरु गरिएको थियो । ढकालको शव हिउँले पुरिएको अवस्थामा शुक्रबार साँझपख फेला परेको थियो । ढकालको शव पोष्टमार्टम गरेर शनिबार आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
नेदरल्याण्डका नागरिक भिनसेन्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५ शनिबार ००:००  ६ : ५१ बजे