एजेन्सी ।
एक युवती विवाहित महिला बन्दा उसको व्यक्तिगत जीवनमा आमूल परिवर्तन आउँछ । श्रीमानको घरका सबै व्यक्तिको व्यवहार थाहा नहुँदा कोसँग कसरी प्रस्तुत हुने भन्ने अन्यौलताले वैवाहिक जीवनका शुरुवाती दिनहरु कठिनाइका बीच चल्छन् ।
विवाहित महिलाले श्रीमानपछि सबैभन्दा बढी फेस गर्नुपर्ने व्यक्ति सासुआमा हुन्छिन् । कतिपय सासुआमा त आफूलाई जन्म दिने आमा जस्तै पनि हुन्छिन् । तर, नेपाली समाजमा सबै सासु आमा हुँदैनन् ।
यदि तपाईंकी सासु पनि आमा जस्ती छैनन्, रुखो स्वभावकी छन् भने उनीहरुसँग कसरी डिल गर्ने त ? आज हामीले तपाईंका लागि रुखो स्वभावकी सासुआमालाई कसरी फेस गर्ने भनेर केही ‘टिप्स’ लिएर आएका छौं ।
आफ्नो व्यवहार स्पष्ट पार्नुहोः
तपाईंलाई पक्कै पनि थाहा हुनुपर्छ कि, रुखो स्वभावका मानिसहरु बनावटी कुरा मन पराउँदैनन् । उनीहरु कुनै पनि विषयमा स्पष्ट कुरा राख्दछन् र अरुबाट पनि स्पष्ट जवाफ चाहन्छन् । त्यसैले तपाईंकी सासुआमा पनि रुखो स्वभावकी छन् भने उनीहरुसँग स्पष्ट कुरा राख्नुहोस् । साथै आफ्नो व्यवहार पनि स्पष्ट पार्नुहोस् । लोतेपोते व्यवहार देखाएर प्रभावमा पार्ने कोशिष नगर्नुहोस् ।
दुरी बनाएर राख्नुहोः
सासुआमाले उमेरका हिसावले जीवनको अनुभव तपाईंको भन्दा धेरै नै संगालिसकेकी हुन्छिन् । यस्तो अवस्थामा तपाईंको व्यवहारमाथि पनि उनीहरु आफ्नो अनुभवका आधारमा मूल्याङ्कन गर्ने गर्छन् । यसकारण तपाईं आफ्नी सासुआमासँग सधै एक समान प्रकारको दुरी बनाएर राख्नुहोस् । उनका अगाडि अरुका कुरा काट्ने र उनको झुटो प्रसंशा गर्ने काम भुलेर पनि नगर्नुहोस् ।
पतिको अगाडि प्रसंशा गर्नुहोः
यदि सासुआमालाई आफ्नी बुहारीको केही व्यवहार मन परेन भने उनले आफ्नो छोरासँग त्यसको गुनासो गर्छिन् । यस्तो अवस्थामा तपाईंले आफ्नो पति (सासुको छोरा)का अगाडि जहिलेपनि उनको राम्रो बानीको प्रसंशा गर्नुहोस् । केही नराम्रा व्यवहार छन् भने पनि भुल्ने कोशिष गर्नुहोस् । कहिलेकाँही देखावटी व्यवहारले पनि फाइदा पुर्याउन सक्छ । तर, सधैं देखावटी व्यवहार अपनाउनु राम्रो हुन सक्दैन ।
गुनासो सुन्नुहोः
उमेर बढ्दै गएपछि मानिसहरुमा झर्किने, सानो सानो कुरामा पनि रिसाउने जस्ता व्यवहार देखिन जान्छन् । तपाईंकी सासुमा पनि यस्तै प्रकारको कुनै समस्या हुन सक्छ । उनीहरु आफ्नो मनको पीडा पोख्नका लागि भए पनि रिसाउने गर्छन् । त्यसकारण उनीहरुले तपाईंसँग गुनासो गर्ने तथा रिसाउने गरेका हुन सक्छन् । यसका लागि तपाईंले उनीहरुको कुरा सुन्ने बानी बसाल्नुपर्ने हुन्छ । यदि तपाईंले धैर्यताका साथ उनका कुरा सुनिदिनुभयो भने उनीहरु शान्त हुन्छन्, तपाईंप्रतिको सोचमा परिवर्तन आउने र उनीहरुले सकारात्मक व्यवहार देखाउने क्रम बढ्दै जान्छ ।
प्रतिक्रिया