४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

तेस्रो एक दिवसीय क्रिकेटमा अस्ट्रेलियासँग भारत पराजित



एजेन्सी ।
अस्ट्रेलियासँगको तेस्रो एक दिवसीय क्रिकेटमा भारत पराजित भएको छ । राँचीमा भएको खेलमा घरेलु टोली भारत भ्रमण टोली अस्ट्रेलियासँग ३२ रनले हराएको हो ।
कप्तान विराट कोहलीको शतकीय पारीका बाबजुद पनि भारत पराजित भएको हो । ३१४ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभर दुई बलमा सबै विकेट गुमाएर २८१ रन मात्रै बनायो ।
भारतका लागि विराट कोहलीले ९५ बलमा १६ चौका र एक छक्काको सहयोगमा १२३ रन बनाए । कोहलीले एक दिवसीय क्रिकेटमा ४१ औँ शतक बनाएका हुन् ।
यस्तै विजय शंकरले ३२, महेन्द्र सिंह धोनी र केदार जाधवले समान २६ तथा रवीन्द्र जडेजाले २४ रनको योगदान दिए पनि हार टार्न सकेनन् । अस्ट्रेलियाका प्याट कमिन्स, जायी रिचर्डसन र एडम जाम्पाले तीन तीन विकेट लिए ।
पहिले ब्याटिङ्ग गरेको अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा ३१३ रन बनायो । उसका लागि उसमान खावजाले ११३ बलमा ११ चौका र एक छक्काको सहयोगमा १०४ रनको योगदान दिए ।
यस्तै एरोन फिन्चले ९९ बलमा १० चौका र तीन छक्काको सहयोगमा ९३ तथा ग्लेन म्याक्सवेलले ३१ बलमा ४७ रन बनाए । भारतका कुलदीप यादवले तीन विकेट लिए ।
लगातार दुई खेलमा जित निकालेको भारतले तेस्रो खेलमा हार बेहोरे पनि पाँच एक दिवसीय शृङ्खलामा २–१ को अग्रता भने कायमै राखेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५ शनिबार ००:००  २ : १३ बजे