४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

युभेन्टस सामु युडिनेस निरिह



एजेन्सी ।
इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टसले प्रभावशाली यात्रा कायम राखेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा युभेन्टसले युडिनेसलाई ४–१ ले हरायो ।
घरेलु मैदानमा भएको खेलमा किशोर खेलाडी मुएज किनले दुई गोल गरे । यस्तै एम्री क्यान र ब्लेज माटुइडीले एक एक गोल गरे । युडिनेसका लागि केविन लासाग्नाले एक गोल फर्काए ।

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई आराम दिइएको खेलमा १९ वर्षका किनले ११ र ३९ औँ मिनेटमा गरि दुई गोल गरेका हुन् । यस्तै क्यानले ६७ तथा माटुइडीले ७१ औँ मिनेटमा गोल गरे । युडिनेसका लागि ८४ औँ मिनेटमा लासाग्नाले एक गोल फर्काएका हुन् ।

युभेन्टसले आउँदो मंगलबार च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेग अन्तर्गत स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग खेल्नेछ । पहिलो लेगमा २–० ले पराजित भएकाले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्न नसके युभेन्टसको च्याम्पियन्स लिग सपना टुट्ने छ ।

शुक्रबार राति भएको खेलमा जित निकालेपछि युभेन्टसको २७ खेलबाट ७५ अंक भएको छ र उ एक खेल कम खेलेको दोस्रो स्थानको नापोली भन्दा १९ अंकले अघि छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५ शनिबार ००:००  २ : ०५ बजे