४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

निर्दोष नागरिकमाथि हुने अपराध क्षम्य छैनः मन्त्री ज्ञवाली



गुल्मी ।

संघीय सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले कुनै पनि राजनीतिक आवरणमा निर्दोष नागरिकमाथि हुने अपराध सरकारको लागि क्षम्य नहुने बताउनु भएको छ ।

विप्लव समूहले अवैध ढंगबाट हातहतियार जम्मा गरेर त्यसमार्फत निर्दोष जनतामाथि खेलबाड गरिहेको भन्दै यसरी अवैध ढंगले हतियार संकलन गर्नु कानुन विपरित रहेको टिप्पणी गर्नुभयो ।

कुनै पनि समूहको नाममा देश र जनतामाथि गरिने हिंसालाई रोक्नु र देशमा शान्ति सुरक्षा कायम गर्नु सरकारको प्रमुख दायित्व भएको मन्त्री ज्ञवालीले बताउनु भयो ।

नेपाल पत्रकार महासंघ गुल्मीद्वारा शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा  मन्त्री ज्ञवालीले चन्दा नदिएको आधारमा हिंसालाई चन्दा असुलीको माध्यम बनाउने कुरा कदापि उचित नभएको र उक्त बाटो गलत भएको भन्दैत्यसलाई समयमै पुनर्विचार गर्न विप्लव समूहलाई आग्रह समेत गर्नु भएको छ ।

‘अपाराधिक कुराहरु आपराधिक हिसाबले गरिन्छ, राजनीतिक कुराहरु राजनीतिक हिसाबले गरिन्छ’, उहाँले भन्नु भयो ।

पत्रकारहरुद्वारा रेशम चौधरीको विषयमा अदालतले गरेको फैसलासम्बन्धी प्रसंगमा मन्त्री ज्ञवालीले अदालतले गरेको फैसला परिपालन गर्नु सबैको कर्तव्य भएको बताउनु भयो ।

यदि त्यसमा चित्त नबुझे पुनरावेदन गर्ने ठाउँ भएको भन्दै उहाँले त्यस विषयमा धेरै टिका टिप्पणी नगर्न राजपालाई आग्रहसमेत गर्नुभएको छ ।

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने भन्ने कुरा सरकारमा आधिकारिक रुपमा आइनसकेको बताउँदै मन्त्री ज्ञवालीले यदि त्यसो भएमा गणितीय हिसाबमा फरक नपर्ने बताउनु भयो ।

वर्तमान सरकार देशको समस्या समाधानका लागि सबैलाई मिलाएर लैजाने पक्षमा रहेको उहाँको भनाइ थियो । मन्त्री ज्ञवालीले सरकारको रचनात्मक आलोचना गर्न र जनतामा निराशा फैलिने काम नगर्न सञ्चारकर्मीहरुलाई आग्रहसमेत गर्नुभएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  ९ : २६ बजे